कोरोना भाइरसबाट मृत्यु हुनेको सङख्या बढियो


काठमाडौं, २५ असोज । कोरोना भाइरस संक्रमणबाट थप आठ जनाको ज्यान गएको छ । उपचारका क्रममा रुपन्देहीका चार जना, चितवनमा तीन र काभ्रेमा एक जनाको ज्यान गएको हो ।

रुपन्देहीमा मृत्यु हुनेहरुमध्ये तीन जना बुटवल उपमहानगरपालिकाका र एक जना तिलोत्तमा नगरपालिकाका हुन् ।बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । उनी मुटुका दीर्घरोगी थिए ।

यस्तै बुटवल–११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । उनमा श्वासप्रश्वासको समस्या थियो ।

बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।
त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको हिजो दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ ।

यता चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत दुई जना र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका मकवानपुरको बागमती– ६ निवासी ८५ वर्षीया महिलाको हिजो साँझ मृत्यु भएको हो ।
असोज १५ गते अस्पताल भर्ना भएकी ती महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोही अस्पतालमा उपचार गराइरहेका सर्लाही, हरिवन–१० का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोभिड आइसीयूमा उपचाररत ती पुरुषको हिजो साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिएका छन् । उता भरतपुर अस्पतालमा पनि एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा उपचार गराइरहेका भरपतुर– १ का ४७ वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो । उनी जन्डिसको समेत बिरामी थिए ।

योसँगै काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको र ३ सय बढी सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । पछिल्ला केहि दिनयता नेपालमा कोरोना संक्रमितको संख्या र मृत्यु दर ह्वातै बढेको छ ।
दशैं, तिहार र छठलगायतका चाडबाडका कारण मानिसको आवातजावत बढेसँगै नेपालमा कोरोना संक्रमण पनि ह्वातै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्