क्षेत्रीहरुले धर्मको महलमा ‘मस्ट’ र जातिको महलमा ‘खस’ लेख्ने


काठमाडौं , २४ असोज । २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा खस क्षेत्रीहरुले पहिलो पटक धर्मको महलमा ‘मस्ट’ र जातिको महलमा ‘खस’ लेख्ने भएका छन् ।

मुख्यतः आफूलाई खस बताउनेहरुले धर्ममा मस्ट र जातिमा खस लेख्ने तयारी गरेका हुन् ।

खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार युवराज कार्कीले धर्मको महलमा मस्ट र जातिमा खस लेख्न लेखाउन आव्हान समेत गरेका छन् । कार्कीले भने, ‘कोरोना महामारीका कारण अहिले गाउँगाउँमा गएर अभियान चलाउन सकिएको छैन ।’

नेपालका अधिकांश क्षेत्रीहरु खस रहेको उनले दाबी गरे । पछिल्लो जनगणना अनुसार नेपालमा क्षेत्रीहरुको जनसंख्या १६ प्रतिशत छ । ठकुरी र पश्चिमका केही दलितहरुले पनि आफूलाई खस बताउने गरेको कार्कीले बताए ।

उनले खसहरु हिन्दु नभएको बताए । छैटौ शताब्दीमा नै खसहरु कोही बुद्धिष्ट भएको र पछि हिन्दु भएको उनले बताए ।
‘अहिले पनि खसहरु धार्मिक रुपमा कट्टर छैनन्,’ उनले भने, ‘सबै धर्मप्रति उनीहरुको समभाव रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्