नेपाल चीनबीच सीमा समस्या नरहेको ः परराष्ट्रमन्त्री ज्ञवाली


रसुवा, २३ असोज । नेपाल चीनबीच सीमा समस्या नरहेका परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसहित नाकामा बनिरहेका पूर्वाधारको अवलोकनका लागि रसुवा आएका उनले भारतसँग जोडिएका सीमामा केही समस्या रहेता पनि चीनसँगको नाकामा समस्या नरहेको बताएका हुन् ।

नेपाल भारत सीमा अनुगमन समिति र नेपाल चीन सीमा अनुगमन समिति बनाएर सीमाको अध्ययन प्रक्रिया अघि बढाएकोमा नेपाल भारतबीचको सीमाको अध्ययन सकिएको छ । नेपाल र भारत बीचको सीमाको अध्ययन सकिएपश्चात व्यवस्थित ढंगले प्रतिवदेन तयारी पारिएको उनको भनाइ छ । अध्ययन अनुसार दुई देश बीच रहेका सीमामा केही समस्या देखिएको छ ।

यसैगरी कोभिड–१९ र मौसमको प्रतिकुलताको कारण चीनसँगको सीमा अनुगमनको काम हुन नसकेको उनले बताए । नेपाल चीनबीच भएका सीमास्तम्भमा कोर्डिनेट राखिएकाले भत्काउने र सार्ने सम्भावना नरहेकाले पनि सीमा समस्या नभएको उनको भनाइ छ ।

उनले यसै गरी गल्छी– रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेंसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्