सरकारी वार्ता टोली र अनशनरत केसीको वार्ता टोलिबीच वार्ता हुँदै


काठमाडौं, २२ असोज । अनसन बसिरहेका डा. गोविन्द केसीसँग आज (बिहीबार) सरकारी वार्ता टोली र अनशनरत केसीको वार्ता टोलिबीच वार्ता हुँदैछ ।

डा. केसी अनसन बसेको २४ औं दिनमा सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् । सरकारले वार्ता टोली घोषणा गरेको केही घण्टापछि डा. केसीका तर्फबाट पनि वार्ता टोली बनेको छ । डा. जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

मंगलबार विहानसम्म सरकार वार्ता टोली गठनको पक्षमा थिएन । शिक्षा सचिव मैनाली नेतृृत्वको टोलीले मंगलबार डा. केसीलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन तोड्न आग्रह गरेर फर्किएको थियो ।

तर बुधबार नेपाल चिकित्सक संघले भोलि २ घण्टा र पर्सी दिनभर आकस्मिक र कोभिड उपचार बाहेक सबै सेवा बन्द गर्ने गरी दबावमूलक आन्दोलन घोषणा गरेपछि सरकार दबावमा परेको थियो ।

सरकारले अहिलेसम्म डा. केसीको ६ बुँदे मागबारे औपचारिकरुपमा केही बोलेको छैन । तर, सरकारले चाहने हो भने सहमति गर्न धेरै गाह्रो नभएको जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्