बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु


बुटवल, २१ असोज । कोरोना विशेष अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल(५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज १५ गते स्वाब पठाई १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको बुधवार बिहान १२ः ५० बजे मृत्यु भएको हो ।

उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको गौतमले बताए । त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको डा. गौतमले बताए । उनका अनुसार मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्