बुटवल, १९ असोज । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश(५ को राजधानी सार्ने प्रस्तावविरुद्ध प्रदेश सभामा विरोध जनाउँदै नाराबाजी गरेको छ ।
सत्तारुढ दल नेकपाले बुटवलबाट प्रदेश(५ को राजधानी सारेर दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट पारित गर्न लागेपछि नेपाली कांग्रेसले त्यसको बिरोधमा सभामा नाराबाजी गरेको हो ।
कांग्रेस सांसदहरुले रोष्ट्रम घेरेर बैठक केहिबेर अवरुद्ध बनेको छ । नेपाली काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले ताहाशाही जस्तो शैलीमा ल्याइएको प्रस्ताव अमान्य भएको बताएका छन् । उनले सर्वसमतिबाट जारी गर्न सक्ने अवस्था रहँदारहँदै दुई तिहाईको देखाउने काम भएको आरोप लगाए ।
नेपाली काग्रेस र फोरमको विरोधपछि २ बजे सम्म लागि बैठक स्थगित गरिएको छ । सरकारले दाङलाई प्रदेश राजधानी बनाउने गरी प्रदेशसभामा प्रस्ताव लगेपछि बुटवल पक्षधरहरु आक्रोशित बनेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निणर्य गर्दै नेकपा सांसदहरुलाई सो प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।