धनगढी, १९ असोज । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण धनगढी प्रिमियर लिग (डिपिएल ) क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ ।
धनगढीमा आयोजना हुँदै आएको प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता यस वर्ष एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भब भएको आज प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ । प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।
विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन् ।