१६ वर्षीया किशोरीको बलात्कारपछि हत्या


रौतहट, १७ असोज । रौतहटमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरीको शव प्रहरीले उठाइएको छ ।

प्रहरीको डगटोलीले आज (शनिबार) बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म घटनास्थलको अनुसन्धान गरेको थियो । शव भेटेको झण्डै १८ घण्टापछि प्रहरीले किशोरीको शव पोष्टमार्टमका लागि लगेको हो ।

किशोरीको शव पोस्टमर्टमका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पताल लगिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले बताएका छन् ।

मावली घरमा बस्दै आएकी १६ वर्षीया किशोरीको शुक्रबार घाँस काट्न गएको बेला बलात्कारपछि हत्या भएको थियो । रौतहटको गढीमाई नगरपालिका १ बस्ने सीताराम साहकी १६ वर्षीया छोरी संझाको हत्या कसले ग¥यो अहिलेसम्म खुलिनसकेको प्रहरीले बताएको छ ।
शुक्रबार बिहान ९ बजे घाँस काट्न गएकी संझाको शव नग्न अवस्थामा वृन्दावन नगरपालिका ४ पल्टुवा टोलस्थित बागमती नहरको छेउमा दिउँसो ३ बजे फेला परेको थियो ।

साँझ बाख्रा चराउन गएका स्थानीयले शव देखेपछि गाउँले र प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि उनको हत्या भएको अनुमान स्थानीयबासी र प्रहरीको छ । अपराधी पत्ता लगाउन घटनास्थलको सुक्ष्म अनुसन्धानका लागि प्रहरीले रातभरि संझाको शवलाई घेरा हालेर राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्