अझै केहि दिन मनसुन जारी रहने


काठमाडौं, १६ असोज । पश्चिमतर्फका तीन प्रदेशबाट मनसुन बाहिरिएको भए पनि अन्य प्रदेशमा अझै केहि दिन मनसुन जारी रहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णाली ली प्रदेश र प्रदेश(५ का पश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको छ ।

‘मनसुन पश्चिमबाट क्रमशः बाहिरिँदै छ,’ महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘त्यस क्रममा पश्चिमतर्फका तीन वटा प्रदेशबाट मनसुन हटेको हो ।’ सक्रिय मनसुन रहने औषत समय सकिएको एक साता बितिसक्दा पनि अन्य प्रदेशमा मनसुन जारी नै छ । अहिले पनि देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

यो क्रम अझै केही दिन रहने जल तथा मौसम विज्ञान विभागको भनाइ छ । ‘उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । यसको प्रभाव रहेसम्म नेपालमा मनसुन सकिँदैन’, जल तथा मौसम विज्ञान विभागकी मौसमविद् सजिना शाक्य भन्छिन्, ‘वंगालको खाडीमा न्यून चापीय क्षेत्र नहटेसम्म नेपालमा मनसुन जारी रहन्छ ।’

शाक्यका अनुसार यो वर्षको मनसुन कहिले अन्त्य हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन । केही दिन मनसुन रहे पनि सक्रिय मनसुन भने नरहने उनको भनाइ छ । सामान्यतः सेप्टम्बर २३ मा नेपालमा मनसुन अन्त्य हुने भए पनि यो वर्ष मनसुन केही लम्बिएको छ । विभागका अनुसार अझै केही दिन मनसुन रहने छ ।

आज (शुक्रबार) दिउँसो प्रदेश(१, प्रदेश(२, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश(१, प्रदेश(२, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश(१, प्रदेश(२, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश(१, प्रदेश(२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शाक्यले बिहीबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भू(भागमा हल्कादेखि मध्यम वर्षा भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्