चडापर्वलाई लक्षित गर्दै देशभर सहुलियत मूल्य पसल सञ्चालन


काठमाडौं, १५ असोज । सरकारले दशैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गर्दै आज (बिहीबार) देखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।

यो वर्ष कोभिड(१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवसथा तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवसथा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दशैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिएकी छन् ।

उपत्यकामा १६ स्थानसहित देशका अरू मुख्य शहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । सहुलियत पसल आउँदो मंसिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

ती सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ भने चिनीमा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । त्यसतै च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैंयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घिउमा प्रतिलिटर ३० रुपैयाँ छुट दिने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

काठमाडौँ उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्