बेतना सिमसार विरुद्ध अख्तियारमा उजुरी, निवेदन दिने दुई संस्थालाई नै सास्ती


अर्जुन कुलुङ राई (खनेन्द्र) – मोरङ, ११ भदौ । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह, बेलबारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । तर जसले उजुरी दियो सोही संस्थानै छानबिनमा परेको छ । बेलबारीको बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिने बेलबारीका दुई संस्था छानबिन परेको हो ।

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह विरुद्ध छानबिन तथा कारबाहीको माग गर्दै बेतौँना सिँचाइ जल उपभोक्ता समिति, बेलबारी र अमना सिशौली सिचाई उपभोक्ता समिति, बेलबारीले आयोगमा उजुरी निवेदन पेस गरेका थिए । वेतना सिमसार वन भित्र आर्थिक कारोबार हिनामिना भएको सम्बन्धमा छानबिन तथा कारबाहीको माग गर्दै असारमा निवेदन पेस गरेको बेतौँना सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष भुवनसिंह राईले बताए । तर अहिले मात्र बेतना सिमसारमा आयोगको ध्यान केन्द्रित भएको छ ।

आर्थिक अनियमितता भएको जनाउँदै २०७३/०७४ सालको साधारण सभामा प्रस्तुत आर्थिक विवरण जन-उपोभोक्ताहरुलाई चित्त नबुझेको, हाल बेतना भित्र संरक्षणको लागि राखिएको जीवजन्तु हराएको, निर्मित संरचनाको संरक्षण नभएको, कर्मचारीले तलब नपाएको पत्रमा उल्लेख गरिएको छ । पत्रमा कारबाहीको माग गर्दै बेलबारी नगरपालिका र सब-डिभिजन वन कार्यालय बेलबारीमा निवेदन पेस गरेको पनि उल्लेख गरिएको छ ।

सब डिभिजन वन कार्यालयमा असार ९ गते कारबाहीको माग गर्दै निवेदन पेस गरेको अमना सिशौली सिचाई उपभोक्ता समितिका अध्यक्ष केदार कुमार गुरुङले बताए । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको कार्यकाल सकिए पनि विधान र प्रचलित कानुन विपरीत अवैध रूपमा कार्य गरी रहेको, आर्थिक अनियमितता भएको, २०७५/०७६ को साधारण सभा नगरेको, उपभोक्तालाई पूर्णता समेत नदिएको दुई सिचाई उपभोक्ता समितिका अध्यक्ष राई र गुरुङ बत्ताऊ छन् ।

उनीहरूका अनुसार समितिको विधानको परिच्छेद ३ धारा ३.२ अनुसार पदाधिकारी ५ र सदस्य २८ जना गरी ३३ सदस्यीय कार्य समिति हुनुपर्नेमा २५ जनाको मात्र कार्य समिति सञ्चालन गरेको हुँदा कार्य समितिले पूर्णता पाएको छैन । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहमा सारेकार वाला संस्था सिँचाइ समितिहरू, बेलबारीको पहिलो नागरिक धिमाल, दलित समुदायको पनि समावेश नगरिएको र विधान मिचेको द्वय अध्यक्षको आरोप रहेको छ ।

बेतनामा चरम लापरबाहीको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको निवेदनको उल्टो छानबिन बेतौँना र अमना सिशौली सिचाई उपभोक्ता समितिमा भइरहेको द्वय अध्यक्षको गुनासो रहेको छ । अध्यक्ष राई भन्छन्, “चरम लापरबाही बेतनामा भएको छ सबैलाई थाहा छ । तसर्थ सुधार हुनु पर्छ भनेर अक्तियारमा निवेदन दिएको हौ । तर हाम्रो संस्थाको उल्टो छानबिन सुरु भयो । हाम्रो संस्थाको छानबिन हुनु गलत हैन तर चरम लापरबाही गर्ने संस्थाको नाममा निवेदन दिँदा सम्बन्धित संस्थामा आयोगको ध्यान नजानु हाम्रो गुनासो छ ।”

उजुरी बारे थाहा नपाए जस्तो गर्दै बेतना सिमसारको उपभोक्ता समूह

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेतलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी परेको थाहा नभएको बताउँछन् । तर आयोगले अनुसन्धानको लागि समितिलाई जुन बेला पनि बोलाउनु सक्ने स्रोतबाट बुझिएको छ ।

अमना सिसैली सामुदायिक बन उपभोक्ता समिति बेलबारी, साना सहरी खानेपानी तथा फोहोर सरसफाइ उपभोक्ता समिति बेलबारी लगायत अन्य संस्थाहरूको पनि साधारण सभा भएको छैन तर किन सरोकारवालालाई बेतानामा मात्रै चासो भएको हो, भन्ने अध्यक्ष बस्नेतको प्रश्न पनि रहेको छ ।

आयोग देखी कुनै पनि पत्र तथा सूचना नआएको बस्नेतले जनकारी दिए । तर बेतनामा विविध कारण साधारण सभा गर्न नसकेको सब डिभिजन वन कार्यालय बेलबारीमा स्पष्टीकरण पेस गरी सकेको उनले बताए । स्थानीय स्तरमा राजनीतिज्ञ दलसँगको छलफल चाडै बसेर साधारण सभा गर्ने निकास निकाल्ने बस्नेत बताउँछन् ।

बेतना भित्र संरक्षणको लागि राखिएको जिव जनवार पूर्ण रूपमा सुरक्षित रहेको बस्नेतले बताए । कर्मचारीलाई तलब नदिएको सवालमा लकडाउनमा बेतनाको आय स्रोत नभएको कारण र भएको अर्थले नपुग्ला भनेर कर्मचारीको काम समेत कम गराएर केही महिनाको तलबमा ढिलाइ भएको बस्नेत बताउँछन् ।

सब डिभिजन कार्यालयलाई दिएको जनावरको संख्या विवरणमा नै फरक

बेतनामा संरक्षणको लागि राखिएको जीवजन्तु पालनपोषणमा कमजोरी देखिएको सब डिभिजन वन कार्यालय बेलबारीका सहायक अधिकृत दिपेस मिश्रले स्विकारेका छन् । मिश्रका अनुसार बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहलाई सुधार गर्न समेत निदर्शन गरिएको छ ।

पटक पटक साधारण सभा गर्न भनिएता पनि बेतना सिमसारको साधारण सदस्यता अन्य वन उपभोक्ता समूहको भन्दा वृहत् भएको कारण व्यवस्थापन कार्य तथा लकडाउनको कारण हुन नसकेको समूहको स्पष्टीकरण रहेको मिश्रले बताए । बेतना सिमसारले आन्तरिक लेखा परीक्षण सकिसकेको र असोज भित्र साधारण सभाको तयारी गर्ने सब डिभिजनलाई समूहले जानकारी गराएको मिश्रले बताएका छन् ।

सब डिभिजन वन कार्यालय बेलबारी अन्तरगत रहेको ८ वटा सामुदायिक वनमा बेतना सिमसार, अमना सिसौली र लक्ष्मी सामुदायिक वन ट्र्याक भन्दा बाहिर काम गरिहरको मिश्र बताउँछन् । ३ वटा सामुदायिक वनलाई ट्र्याकमा ल्याउने कोसिस गरी रहेको उनले बताए ।

बेतनामा माछा चोरी खबर सार्वजनिक भएको महिना पनि कटेको छैन । सो चारी सम्बन्धी सम्बन्धित दोषीलाई समूहले कारबाही गरिसकेको समेत स्पष्टीकरण सब डिभिजनले पाएको मिश्रले जानकारी दिएका छन् ।

सब डिभिजन कार्यालयलाई समूहले दिएको जनावरको किसिम र संख्या हेर्ने हो भने फरक पाइएको छ । १ भाले निल गाई, ११ चित्तल, ६ खरायो, दुम्सी १, अजिङ्गर ४, बाँदर ४, हुचिल २, मलसाँप्रो कोटासे १, गिद्ध २, स्याल १, वनढाडे १, तित्रा २, मुसा ३०, राजहाँस ११, चिनियाँ हाँस ११ रहेको छ ।

तर बेतनामा भने १० चित्तल मात्र रहेको छ । एक चित्तल के भयो भन्ने प्रश्नमा, मृत्यु भएको समूहको जवाफ रहेको छ । अजिङ्गर १ वटा मात्र रहेको छ । ३ वटा अजिङ्गर कहाँ हरायो भन्ने समूह नै अनविज्ञ छ । सब डिभिजन कार्यालयलाई समूहले दिएको जनावरको संख्या अनुसार बेतना भित्र एक हुचिल र दुई चिनियाँ हाँस कम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्