आज विश्वकर्मा जयन्ती : मुलुकको विभिन्न स्थानमा मनाइँदै


मणिराम दाहाल – सुन्दरहरैंचा, १ असोज । आजको दिन असोज १ गते कन्या संक्रान्ति अर्थात् १७ सेप्टेम्बर भगवान् विश्वकर्माको पूजा गरिन्छ । विश्वकर्मा बाबाको जन्म दिन भएकोले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।

विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरूको पूजा आज गरिन्छ । नेपालको विभिन्न जिल्ला लगायत भारतमा समेत विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विभिन्न उद्योग कलकारखानाहरूमा विश्वकर्मा पूजाको ठुलो महत्त्व रहेको छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरूले गर्ने गर्छन् । आजको दिन धेरैजसो कलकारखाना बन्द रहने तथा मानिसहरूले हर्षोल्लासको साथमा भगवान् विश्वकर्माको पूजा गर्छन् ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार भनेर भनिने गरिन्छ । उनले पाताल, मध्य लोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको भन्ने धार्मिक जानकारहरू बताउँछ । भगवान् महादेवले ब्रह्मा तथा विष्णुलाई सृष्टिको सृजना र पालनको छुट छुट्टै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएको भन्ने मान्यता रहेको पाइन्छ । भगवान् विश्वकर्माको महत्त्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरू लेखेर उल्लेख गरिएको छ ।

बाबा विश्वकर्माको अनन्त तथा अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका साथै कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छ । विश्वकर्माको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा दिनुका साथै काममा आउने सबै बाधा अड्चनहरूलाई तोडिदिन्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । विश्वकर्मा एक महान् ऋषि तथा ब्रम्हाज्ञानी थिए । उनले नै देवताको घर, नगर, अस्त्र-शास्त्र आदि निर्माण गरेको हुँदा उनी महान् शिल्पकार थिए । वास्तुदेवका अंगिरसी नामक पत्नीबाट विश्वकर्मा जन्मिएका हुन् ।

महाभारत आदिपर्व अध्याय १६ श्लोक २७ एवं २८ मा पनि यसको स्पष्ट उल्लेख गरेको पाइन्छ । वराह पुराणको अ. ५६ मा उल्लेख भए अनुसार सबै मानिसको उपकार्यार्थ ब्रह्मा परमेश्वरले विश्वकर्मालाई पृथ्वीमा उत्पन्न गरेका हुन् । उनले घर, कुवा, रथ, शास्त्र आदि समस्त प्रकारका शिल्पीय पदार्थको रचना गरेका थिए । प्राचीन कालमा जनकल्याणार्थ मनुष्यलाई सभ्य बनाउने संसारमा अनेक जीवनोपयोगी वस्तु निर्माण गरेका कारण उनलाई आचार्यको पनि आचार्य भनिन्छ ।

प्राचीन समयमा इन्द्रपुरी, लंकापुरी, यमपुरी, वरुणपुरी, कुबेरपुरी, पाण्डवपुरी, सुदामापुरी, द्वारिका, शिवमण्डलपुरी, हस्तिनापुर जस्ता नगरको निर्माण विश्वकर्माले नै गरेका थिए । कर्णका कुन्डल, विश्वको सुदर्शन चक्र, पुष्पक विमान, शंकर भगवानको त्रिशूल, यमराजको कालदन्ड आदि वस्तु निर्माण गरेका कारण उनलाइ सम्मान पूर्वक विश्वकर्मा बाबा ( गुरु) काे रूपमा सम्झने गरिन्छ ।

मुलुकको विभिन्न स्थान लगायत १ नम्बर प्रदेशका मुख्य सहर झापा , मोरङ, सुनसरी लगायतका औद्योगिक क्षेत्रमा आज धूमधामका साथमा विश्वकर्मा बाबाको पूजापाठ तथा आराधना गरी मनाइँदै छ । विश्वकर्मा पूजाको दिन सार्वजनिक तथा निजी सवारी साधन , कलकारखाना फलाम र धातुजन्य पर्दाथकाे समेत पूजा गरिन्छ। विश्वकर्मा पुजाको अवसरमा उद्योग कलकारखानाहरूमा धार्मिक विधि अनुरूप पूजा आराधना गरी सामूहिक रूपमा टिका प्रसाद ग्रहण गरेर कम्प्युटर, मेशिन, औजार, सवारी साधन लगायतको पूजा आराधना गर्ने चलन रहिआएको छ ।

ज्ञान विज्ञान र सिपका धनी भगवान् बाबा विश्वकर्माको श्रद्धापूर्वक सम्झना गरी पूजापाठ गर्दा सुख शान्तिका साथै फलाम ,मेसिन तथा धातुजन्य व्यापार व्यवसायमा समेत फलिफाप हुने विश्वास गरिएको पं सूर्यप्रसाद दाहालले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्