सन्दीपको जादुपछि नेपाल ५ रनले विजयी : विश्वकप नजिक


काठमाडौं । नेपाली क्रिकेट टोलीले पुनः रोमाञ्चक प्रदर्शन गर्दै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा कतारमाथि ५ रनको जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो विजय हात पारेको छ ।

ओमानको मस्कटमा सोमबार भएको खेलमा सन्दीप लामिछानेको घातक बलिङले नेपाललाई जित दिलायो । उनले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । यही प्रदर्शनका कारण नेपालले हारको नजिक पुगिसकेको खेलमा पनि रोमाञ्चक पुनरागमन गर्दै कतारलाई १९.५ ओभरमा १४२ रनमै समेट्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको ५८ रनको अर्धसत्तक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । रोहितले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै कप्तानी पारी खेले । दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे भने गुलशन झाले ८ बलमा १६ रनको छोटो तर प्रभावशाली योगदान दिए ।

कतारका लागि कप्तान मिर्जा बेग र डानियल आर्चरले समान ३–३ विकेट लिए । १४८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कतारका ओपनर इमाल लियानागे र जुबेर अलीले पहिलो विकेटका लागि १० ओभरमा ७९ रनको साझेदारी गर्दै नेपालमाथि दबाब सिर्जना गरेका थिए । तर सन्दीप लामिछानेले १०औँ ओभरमा लियानागेलाई ५६ रनमा बोल्ड गर्दै खेलको मोड बदलिदिए ।

त्यसपछि सन्दीपले मोहम्मद असीम, मुजीब उर रहमान र अमिर फारुखलाई पनि पवेलियन फर्काउँदै आफ्नो पाँच विकेट पुरा गरे । दीपेन्द्रसिंह ऐरीले कप्तान मिर्जा बेगलाई २ रनमा आउट गरे भने आदिल आलम अन्सारी र दीपेन्द्रले एक–एक रनआउट गर्दै कतारलाई अन्ततः पराजित बनाएका थिए ।

कतारका जुबेर अलीले ५२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यो जितसँगै नेपालले सुपर सिक्समा लगातार दोस्रो जित निकाल्दै विश्वकप प्रवेशको औपचारिकता नजिक्याएको छ । नेपालले यसअघि युएईलाई १ रनले पराजित गरेको थियो ।

अब नेपाल र ओमान दुवैको ६–६ अंक रहेको छ । बुधवार हुने नेपाल र ओमानबिचको भिडन्तले विश्वकपमा पुग्ने सम्भावनाको औपचारिक पुष्टि गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्