झापा ११ लाई पराजित गर्दै भोजपुर सेमिफाइनलमा : आठौँ बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकपमा रोमाञ्चक ट्राइब्रेकर जित


मोरङ, बेलबारी । मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित स्थानीय लक्ष्मी खेलमैदानमा जारी आठौँ बेलबारी आरजु राईस मेजर स्वर्गीय एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप अन्तर्गत सोमबारको दोस्रो क्वार्टरफाइनल खेलमा भोजपुर विजयी बनेको छ । झापा–११ लाई रोमाञ्चक ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै भोजपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

नियमित ९० मिनेटको निर्धारित समयसम्म दुवै टोलीबिचको प्रतिस्पर्धा १–१ को बराबरीमा रोकिएको थियो । खेलको ३९औँ मिनेटमा झापा–११ का एरोन थापा मगरले उत्कृष्ट फ्रिकिक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ४०औँ मिनेटमा भोजपुरका जर्सी नम्बर १७ मिलन लिम्बुले बराबरी गोल गर्दै खेललाई पुनः जीवित पारे ।

खेलभरि नै दुवै टोलीबिच कडा प्रतिस्पर्धा चलेको थियो । २१औँ मिनेटमा झापा–११ का एरोन थापाको शक्तिशाली प्रहारलाई भोजपुरका गोलरक्षक समीर क्षेत्रीले उत्कृष्ट रूपमा पन्च गर्दै गोल हुनबाट जोगाए भने १९औँ मिनेटमा भोजपुरका मिलन लिम्बुको जोरदार प्रहारलाई झापाका गोलकिपरले कठिन प्रयासपछि रोक्न सफल भएका थिए ।

२६औँ मिनेटमा भोजपुरले पाएको अर्को फ्रिकिक अवसरमा जर्सी नम्बर ११ विनोद राईले सशक्त प्रहार गरे पनि गोल हुन सकेन । गत वर्षको विजेता झापा–११ ले यस पटक पनि जितको आशा पालेको थियो, तर ट्राइब्रेकरमा भाग्य साथ नदिँदा भोजपुरले सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

खेलको म्यान अफ द म्याच भोजपुरका गोलरक्षक समीर क्षेत्री घोषित भए । उनले उत्कृष्ट प्रदर्शनको सम्मान स्वरूप नगद ७ हजार रुपैयाँ प्राप्त गरे । आजको खेलमा कोशी प्रदेश सभा सदस्य माननीय मानबहादुर लिम्बु प्रमुख अतिथि रहेका थिए । प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेको आयोजक एल.एक्स. सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।

भोलि हुने खेलमा रारा फुटबल क्लब, राजारानी, धनकुटा र ‘बी’ डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड क्लब बिच प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगिताको मुख्य सहयोगी बेलबारी नगरपालिका र मुख्य प्रायोजक आरजु राईस मिल रहेको क्लबका महासचिव शम्भु बस्नेतले बताए । विजेता टोलीले नगद ८ लाख रुपैयाँसहित उपविजेता टोलीले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसै गरी, ३ केजी चाँदी र डेढ तोला सुन जडित ८ लाख रुपैयाँ बराबरको आकर्षक ट्रफी कुनै एक फुटबल क्लबले लगातार तीन वर्ष विजेता बन्न सकेमात्र प्राप्त गर्न सक्ने नियम रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्