जेनजी आन्दोलनप्रति समर्थन : स्थानीय जनप्रतिनिधिलाई जिम्मेवारीमा फर्किन पाच दलको संयुक्त आग्रह


बेलबारी, मोरङ । सुशासन र सामाजिक सञ्जाल सञ्चालनको निरन्तरता माग गर्दै जेनजी समूहले भदौ २३ र २४ गते देशभर सञ्चालन गरेको आन्दोलनप्रति बेलबारीमा पाच दलले संयुक्त रूपमा समर्थन जनाएको छ । आन्दोलनका क्रममा दिवङ्गत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रमुख राजनीतिक दल नेपाली काँग्रेस बेलबारी नगर समिति, नेकपा (एमाले) बेलबारी नगर कमिटी, नेकपा (एकीकृत समाजवादी) बेलबारी नगर कमिटी, जनता समाजवादी पार्टी बेलबारी नगर समिति र नेपाल कम्युनिष्ट पार्टी बेलबारी नगर कमिटीले असोज २८ गते जारी गरेको संयुक्त विज्ञप्तिमा आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै देशको विषम परिस्थितिमा सबै राजनीतिक दलले एकताबद्ध भई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेको छ । विज्ञप्तिमा भनिएको छ, “देशमा उत्पन्न परिस्थितिका कारण बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत दिएका राजीनामाहरू फिर्ता लिएर तत्काल जनसेवामा फर्किनु जरुरी छ । सर्वसाधारण नागरिकका दैनिक कार्य र सेवामा कुनै अवरोध आउनु हुँदैन।”

पाच दलका नगरस्तरीय समितिहरूले मोरङका जिल्ला र प्रदेशस्तरीय सेवा प्रदायक कार्यालयहरू अझै सुचारु हुन नसकेको जनाउँदै ती कार्यालयहरू तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकाय र आफ्ना जिल्ला समिति तथा कमिटीहरूलाई आवश्यक पहल गर्न आग्रह गरेका छन् । संयुक्त विज्ञप्तिमा नेपालका सबै दलहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान २०७२ को संरक्षण र निरन्तरताप्रति पूर्ण प्रतिबद्धता पुनः व्यक्त गरिएको छ । साथै, आउँदै गरेका चाडपर्वहरूमा देशभरका नागरिकहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरिएको छ ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा शङ्कर गुरुङ (अध्यक्ष, नेकपा (एमाले) बेलबारी नगर कमिटी), छत्र लिम्बू (सभापति, नेपाली काँग्रेस बेलबारी नगर समिति), होमप्रसाद बास्कोटा (अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी बेलबारी नगर कमिटी), अमिर मगर (अध्यक्ष, जनता समाजवादी पार्टी बेलबारी नगर समिति) र भुपाल बस्नेत (अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) बेलबारी नगर कमिटी) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्