सरोकार समितिको माग : मदन भण्डारी मार्ग गुगल म्याप अनुसार हुनुपर्ने 


किशन शाही । केराबारी । प्रस्तावित मदन भण्डारी मार्गको विषयमा विभिन्न समूहबिच छलफल र बहस चलिरहेको बेला केराबारीका दुई छुटाछुटै संस्थाले सोमबार केराबारी गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।


गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की एवं प्रवक्ता जङ्गराज खवाससहितको उपस्थितिमा मदन भण्डारी राजमार्ग तथा पुल निर्माण सरोकार समिति र चुरे खदम संरक्षण उपभोक्ता समितिले गुगल नक्साबाट सय डेढ सय मिटर भन्दा तलमाथि फरक नपर्ने गरी यथावत् रूपमा राजमार्ग विस्तार गर्न माग गर्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको हो ।

साबिक चुरै फेदी वैकल्पिक मार्गको विकल्पको रूपमा चुरेक्षेत्रबाट प्रस्तावित मदन भण्डारी मार्ग विस्तार गर्दा जीवनदायी चुरे क्षेत्रको विनाशबाट सिङ्गो पर्यावरणीय सन्तुलन जैविक विविधता ऐतिहासिक भौगोलिक अवस्थिति, पानीको रिचार्ज प्रक्रियामा असन्तुलन भई सिङ्गो मानव जीवन नै प्रभावित हुने भएकाले चुरेक्षेत्रको संवेदनशीलतालाई मध्यनजर गरी निर्णय गर्न आग्रह सहितको माग उपभोक्ता समितिको ज्ञापनपत्रमा उल्लेख छ ।


त्यसै गरी मदन भण्डारी राजमार्ग तथा पुल सरोकार समितिले पनि ज्ञापन पत्र पेस गरेको छ । भौगोलिक बनावट मानवीय बस्ती तथा उपभोक्ताहरूको सेवासुविधालाई मध्य नजर गरी केराबारी गाउँपालिकाको विभिन्न खोलाहरूमा पुल निर्माण गर्नुपर्ने भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

नयाँ नक्साङन गरी बाटो लाँदा साबिक चुरे फेदी बाटो सर्न गई चुरे क्षेत्र तहस नहस हुने र त्यसले सिङ्गो बस्तीलाई असर गर्ने भएकाले उपर्युतm विकल्प सहित मदन भण्डारी मार्गको अवधारणा ल्याउन पनि सरोकार समितिले ज्ञापन पत्र मार्फत सुझाएका छन् । सरोकार समितिले गुगल नक्साको आधारमा मदन भण्डारी राजमार्ग पर्ने गरी निर्णय गर्न माग गरेको छ । चुरे पहाडको फेदीबाट नयाँ बाटो लैजाँदा नदी प्रणाली, र खेतीयोग्य जमिन र हजारौँ हेक्टर उर्वर जग्गाजमिन मरुभूमिमा परिणत हुनसक्ने तर्फ सचेत हुन आग्रह गर्दछौ ।ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका प्रमुख रोहितबहादुर कार्कीले विभिन्न समूह समूहबाट अलक अलक ज्ञापन पत्र आउनुभन्दा पनि यसलाई सबैको साझा दायित्वबोध हुने गरी निष्कर्ष निकाल्नुपर्ने औँल्याउनुभएको छ । मदन भण्डारी मार्ग राष्टिय गौरवको आयोजना भएको र यो आयोजनालाई सफल बनाउन सबै केराबारीवासीको साझा दायित्व र जिम्मेवारी भएको भन्दै यसलाई विभिन्न विवाद पक्ष विपक्षको रूपमा नहेरी कहाँबाट उचित हुन्छ ? त्यसबारे गाउँपालिकाको बोर्ड बैठकबाट समाधान खोजिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्