काठमाडौं, ११ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनर्नियुक्तिको विषयलाई लिएर आधार तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगरिदिन अनुरोध गरेका छन् । कार्यकारी निर्देशक घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री वर्षमान पुन र आफूलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण भएको भन्दै यस्तो रोक्न अपिल गरेका हुन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यकारी निर्देशक घिसिङले आफ्नो पुनर्नियुक्तिलाई लिएर केही दिनदेखि प्रधानमन्त्री र ऊर्जा मन्त्रीलाई जोडेर भ्रामक समाचार र सूचना सम्प्रेषण भएको भन्दै खण्डन गरेका छन् । भनेका छन्, ‘मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु ।’
विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र आफ्नो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन् ।
‘म एक्लैले लोडसेडिङ हटाएको हैन’
घिसिङले अहिलेको उपलब्धि सामूहिक प्रयत्नको नजिता भएको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धिहरू हासिल भएको उनले उल्लेख गरेका छन् ।
भनेका छन्,‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरू र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धिहरू हासिल गर्न सम्भव थिएन ।’
कुलमान घिसिङको विज्ञप्ति
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९को निर्णयबाट मलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।
मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय श्री वर्षमान पुनज्यूलाई जोडेर विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु ।
नेपाल विद्युत् प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन् ।
लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरू र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धिहरू हासिल गर्न सम्भव थिएन ।
सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा सञ्चालन गर्न प्रणालीलाई स्वचालित र डिजिटाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युत्को शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यान्वयन गर्ने, ठुला जलविद्युत तथा प्रसारण लाइन आयोजनाहरूको निर्माण गर्ने लगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु ।
कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत् प्राधिकरण
दरबारमार्ग,काठमाडौं।
मिति : २०७७/०५/११ बिहीबार