विराटनगर, ३ भदौ । प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आइसोलेसन केन्द्र थप गरिने भएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका सम्बन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा आज बसेको बैठकले संक्रमण बढी देखिएका स्थानमा तत्काल आइसोलेसन केन्द्र थप गरिने निर्णय गरिएको हो ।
बैठकले आइसोलेसन केन्द्र थप गर्नका लागि तत्काल योजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । समूहगत संक्रमण नियन्त्रण गराउनका लागि लकडाउन प्रभावकारी बनाउने, सीमा सुरक्षालाई कडाइका साथ प्रभावकारी बनाइने, संक्रमण जोखिम क्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउने, होम आइसोलेसन र आइसोलेसन स्थलको व्यवस्थापन प्रोटोकल बमोजिम नियमित गर्ने निर्णय गरिएको छ । लक्षण देखिएकालाई उपचारका दायरामा ल्याउने र लक्षण नदेखिएकालाई आइसोलेसन र होम आइसोलेसनमा राख्न प्रबन्ध गरिने बैठकले निर्णय गरेको छ ।
बैठकमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, प्रदेश १ प्रयोगशाला प्रमुख जयवेन्द्र यादव, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताको सहभागिता रहेको थियो ।