बाटो नहेर्नू भाइ


तिला लेकाली –

बेलबारी, भदै ३ ।

“अति प्रयोग र दुरुपयोग केहीको पनि कहिल्यै नगर्नु” यस्तै भन्नुहुन्थ्यो आमा
सायद, मान्छेको अति प्रयोगको परिणाम हो कोरोना
आयो, भित्रियो अदृश्य शक्ति, महाविनाश काल बनेर

मान्छे,मान्छे नरहेपछि,मान्छेका गुण बिर्सिएपछि
पैसा ईश्वर सम्झ्यो र पूजा गर्‍यो,बिर्सेर श्रम सम्मान
सोच्यो मात्र पैसा कमाउने उपायहरू
श्रीमती त के बेच्यो,आमा छोरी बुहारी आफन्तहरू
बेचेर इज्जत बन्यो पैसा पुजारी
लाग्छ,चुलिएर अत्याचार पोखिएको हो
उधुम मच्चाइरहेछ कोरोना बनेर अदृश्य शक्ति

अँध्यारा छन् घर आँगन दलान खेत बारीहरू
सुनसान छन् हाटबजार गाउँ सहरहरू
सडक सुनसान लमतन्न सुतेको छ
चोक गल्ली बाटाघाटासबै सबै सुनसान छन्
मान्छे थुनिएर, बाहिरिएका छन् चिडिया घरहरू
सातो हराएका बस्तीहरू
निभेका चुलोहरू
डढेलो लागेको छ गाउँ सहर र सारा विश्वमा
हरियाली छैनन् जङ्गल चौरहरू
फुलेका छैनन् सयपत्री गोदाबारीहरु
चराको चिरबिर कतै सुनिन्न
हुच्चिल रुन्छ रातभरि बस्तीमा अचेल

आकाश पोखिएर निरन्तर बगाइरहेछ अश्रुधारा
उर्लेर खोलाको जवानी बलात्कार गर्दै छ किनारा
बगाउँदै छन् मानव बस्तीहरू
हरिया फाँटहरूलाई बगर बनाएर
मृत्युकै लाखे नाच देखाइरहेछन् खोलाहरू

उडेका छन् मानव फूलका रङहरू
होचिएका छन् अग्रगामी आशाहरू
केवल हत्या हिंसा बलात्कार आकासिएका छन्
भोकको आगो दन्किएको छ बस्ती बस्तीमा
ट्रकका ट्रक कोरोना मृतकहरू
डोजरले पुरेका दृश्य देखाउँछ टेलिभिजन
हजारौँ कोरोना संक्रमित र क्वारेन्टाइनको अभाव पढ्छन् समाचार रेडियोहरू
दिन दुई रात चार बढ्दो छ संक्रमण
औषधि पत्ता नलागेको, गुर्जो कागती बेसार ज्वानो अदुवा लगायत खाने सिफारिस गर्छन् विज्ञहरू
त्रासदीपूर्ण छ मानव जगत
अचानक कुन बेला टिपिइने हो कालाबाट
त्यसै त्यसै झोक्राइरहेछ मानव बस्ती

स्नेहको फूल चाहिने हो,यो समय
यसै बेला विशेष चाहिने हो अभिभावकत्व
ठुलो अपेक्षा हो राज्यबाट / नेताबाट जनताको
मुसा बनेर जिउ जोगाउँदै होलान् सायद
देखिन्नन् नायकहरू यता कतै

सिङ्गो देश मुर्झाएको छ
हावाझैँ कोरोना महामारी दौडिरहेको छ
वृद्ध बाआमाको राम्रो हेरचाह गर्नू
स-परिवार सुरक्षित बस्नू,
यो हुलचालमा जिउ जोगाउने समय हो
मृत्यु बोकेर कोरोना सलबलाइरहेको यस घडीमा
नमानौँ यो वर्ष तीज दसैँ तिहार छठ वा होली
नखेलौँ लिंगे पिङ नलगाऊँ दसैँका टीका जमरा
बाँचिएछ भने आघौँ साल खाउँला खिर ढकने
जम्मा भएर सबै दिदीबहिनी र दाजुभाइ
मूल घरमा नाचगान गरौँला, तीज मनाउँला
यसपालि म दर खान आउँदिन, बाटो नहेर्नू भाइ ।

प्रतिक्रिया दिनुहोस्