एसईईको नतिजा सार्वजनिक भयो


काठमाडौं, १ भदौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । एक हप्ता पहिला नै सम्पूर्ण तयारी सकिए पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिएका छन् ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । मूल्यांकन फरक भए पनि गतवर्ष जसरी नतिजा सार्वजनिक हुने बोर्ड स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको ३ सदस्यीय मूल्यांकन समितिले आन्तरिक मूल्यांकनका आधारमा कक्षा १० का विद्यार्थीको नतिजा तयार गरि नतिजा सार्वजनिक भएको छ । विद्यालयले पठाएको सोही नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्नेछ । विद्यार्थीको विवरण झुठा ठहरेमा वा गलत विवरण पेस गरेको पाइए मूल्यांकन समिति नै जबाफदेही हुने गरी कार्यविधि बनाइएको थियो ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरूले लिएका पछिल्लो पटकको परीक्षाको अंकलाई विषयगत पूर्णाङ्क अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने कार्यविधिमा उल्लेख व्यवस्था छ ।

विद्यार्थीको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरूले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनु पर्ने व्यवस्था गरिएको छ ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाईमार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो । देशभर एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन फर्म भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्