विराटनगर । मंगलबार बिहान गएको ५.३ म्याग्निच्युडको भूकम्पले कोशी प्रदेशसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा धक्का महसुस गराएको छ । बिहान ७ बजेर १७ मिनेट ४२ सेकेन्डमा गएको भूकम्पका कारण स्थानीयवासी केहीबेर त्रसित बनेका थिए ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रबिन्दु भारतको सिक्किमस्थित मङ्गनबाट ६७ किलोमिटर पश्चिम-उत्तरपश्चिममा रहेको थियो । भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको छ । यसको केन्द्रबिन्दु २७.८३३ डिग्री उत्तरी अक्षांश र ८७.९४७ डिग्री पूर्वी देशान्तरमा रहेको उल्लेख छ ।
युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (EMSC) लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि नेपालमा ५.३ म्याग्निच्युडको भूकम्प गएको र यसको गहिराइ १० किलोमिटर रहेको जनाएको छ । भूकम्पबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन । नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको धक्काबारे थप विवरण आउन बाँकी छ ।


