झुटो प्रचारले लोकतन्त्र र सुशासन कमजोर पार्छ : लेटाङका नगरप्रमुख लावती


लेटाङ, २३ कात्तिक । सार्वजनिक जीवन र राजनीतिमा तथ्यभन्दा प्रचार हाबी हुन थाले त्यसले समाजमा अविश्वास र भ्रमको वातावरण सिर्जना गर्ने भन्दै मोरङको लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले भ्रामक सूचनाविरुद्ध प्रमाणमा आधारित प्रतिवाद आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेसँग सार्वजनिक कार्यक्रममा भएको भनाभनपछि चर्चामा आएका नगरप्रमुख लावतीले आफ्नो अभिव्यक्तिको आशय स्पष्ट पार्दै राजनीतिक वृत्तमा बढ्दो ‘गोयबल्स प्रवृत्ति’प्रति सचेत हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । केही समयअघि एक कार्यक्रममा आफूले उठाएको विषयबारे थप जिज्ञासा आएपछि त्यसको पृष्ठभूमि र अर्थ समेटेर जानकारी प्रस्तुत गरेको उनले बताएका छन् ।

लावतीले ‘गोयबल्स प्रवृत्ति’लाई असत्य कुरालाई निरन्तर दोहोर्‍याएर आममानिसमा त्यसप्रति विश्वास पैदा गराउने प्रचारशैलीका रूपमा व्याख्या गरेका छन् । नाजी जर्मनीका प्रचारमन्त्री जोसेफ गोयबल्सको नामसँग जोडिएको यस अवधारणाले योजनाबद्ध रूपमा भ्रम फैलाउने, आधा सत्यलाई पूर्ण सत्यझैँ प्रस्तुत गर्ने र जनमतलाई प्रभावित पार्ने प्रवृत्तिलाई जनाउने उनको भनाइ छ ।

उनले राजनीतिक प्रतिस्पर्धामा आफ्ना कमजोरी ढाकछोप गर्न विपक्षीमाथि निरन्तर आरोप लगाउने, अरूले गरेका कामको श्रेय लिने, प्रमाणबिनाका विषयलाई सामाजिक सञ्जालमार्फत व्यापक बनाउने तथा विरोधी पक्षको छवि बिगार्ने प्रयासलाई यस्ता प्रचारका उदाहरणका रूपमा उल्लेख गरेका छन् । यस्ता गतिविधि सामान्य राजनीतिक आलोचनाभन्दा फरक हुने उल्लेख गर्दै लावतीले यसको प्रभाव शासन सञ्चालन, विकास निर्माण र सामाजिक विश्वाससम्म पुग्न सक्ने बताएका छन् ।

उनका अनुसार निरन्तरको भ्रामक प्रचारले नागरिकमा अन्योल बढाउने, राजनीतिक ध्रुवीकरणलाई तीव्र बनाउने र वास्तविक कामको मूल्याङ्कन गर्ने आधार कमजोर पार्ने जोखिम रहन्छ ।यसको प्रतिरोधका लागि नागरिकले कुनै पनि दाबीलाई तत्काल विश्वास नगरी तथ्य र प्रमाणका आधारमा परीक्षण गर्नुपर्नेमा उनले जोड दिएका छन् । एउटै सूचनालाई विभिन्न विश्वसनीय स्रोतसँग तुलना गर्ने, प्रचार र वास्तविक उपलब्धिबीचको अन्तर पहिचान गर्ने तथा आलोचनात्मक सोच विकास गर्ने अभ्यास आवश्यक रहेको उनको धारणा छ ।

लावतीले यस प्रक्रियामा जिम्मेवार पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको भूमिका पनि महत्त्वपूर्ण हुने बताएका छन् । राजनीतिक नेतृत्वको मूल्याङ्कन प्रचारको प्रभावबाट नभई उसको कार्यसम्पादन, सत्यनिष्ठा र नागरिकसँग स्थापित विश्वासका आधारमा हुनुपर्ने उनको निष्कर्ष छ ।

सार्वजनिक बहसमा फरक विचार र आलोचनालाई स्वाभाविक रूपमा लिनुपर्ने भए पनि त्यसको आधार तथ्य र प्रमाण हुनुपर्ने सन्देशसहित नगरप्रमुख लावतीले भ्रामक प्रचारप्रति सबै पक्ष सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्