कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका-४ टावरटोलस्थित साना किसान बचत तथा सहकारी संस्थाको कोल्ड स्टोरबाट भारतबाट ल्याइएका १५ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका सयपत्री फूलका माला बरामद गरी नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा कोल्ड स्टोरमा खानतलासी गर्दा बिलबिजकबिना भण्डारण गरिएको अवस्थामा १० हजार ४ सय थान सयपत्री फूलका माला फेला पारेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लक्ष्मीमार्गका डीएसपी सन्तोषवीर सिंहका अनुसार बरामद मालाको बजार मूल्य १५ लाख ६० हजार रुपैयाँ रहेको छ । उनका अनुसार बरामद माला १०४ पोका रहेका थिए ।

बरामद गरिएका मालालाई बेलबारीस्थित सुरक्षा बेस लक्ष्मीमार्गको कार्यालय परिसरमा खाल्डो खनेर पुरेर नष्ट गरिएको छ । नष्ट गर्ने क्रममा जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीयवासी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेलबारी नगरपालिका-११ की वडा सदस्य पार्वती बस्नेत, कानेपोखरी गाउँपालिका-४ का वडा सदस्य प्रदीप राईलगायत सहभागी थिए ।

तिहारको समयमा सयपत्री फूलका मालाको माग बढ्ने भएकाले भारतीय माला अवैध रूपमा भित्र्याएर भण्डारण गर्ने गतिविधिप्रति सुरक्षा निकायले निगरानी बढाएको छ ।


