डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन् । उनीहरू शुक्रवार राति कारागारभित्र करिब ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर बाहिरिएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
शनिवार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार फरार हुनेमध्ये छ जना कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति छन् । उनीहरूलाई राखिएको कोठाबाट कारागारको बाहिरी भागसम्म सुरुङ खनिएको पाइएको प्रहरीले जनाएको छ ।
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ का कालीप्रसाद रोकाय, सोही नगरपालिकाको वडा नं. ४ का हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका-५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक रहेका छन् । उनीहरू जबरजस्ती करणीसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका थिए ।
त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका-९ का कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का तिलक भण्डारी र वडा नं. ३ का आदेश भण्डारी पनि फरार भएका छन् । उनीहरू चोरीसम्बन्धी मुद्दामा कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन् ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी तथा प्रशासनको टोली कारागार पुगेर स्थलगत निरीक्षण र अनुसन्धान थालेको छ । कारागारको सीसीटीभी फुटेजसमेत जाँच भइरहेको र फरार कैदीबन्दीको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
कैदीबन्दीले सुरुङ खन्न कहिलेदेखि सुरु गरेका थिए, कारागारको सुरक्षा निगरानीबाट कसरी बच्न सफल भए र उनीहरू कुन समयमा बाहिरिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ । यस घटनाले जिल्ला कारागारको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ ।


