विराटचोक । केही दिनअघि स्थगित गरिएको मोरङको सुन्दरहरैँचा फुड फेस्टिभल-२०८३ भोलि कात्तिक ६ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघले आवश्यक समन्वय र व्यवस्थापकीय सुधारपछि जिल्ला प्रशासन कार्यालय मोरङको अनुमतिअनुसार महोत्सव पुनः सञ्चालन गर्न लागेको हो ।
संघले बुधवार कात्तिक ५ गते सार्वजनिक सूचना जारी गर्दै महोत्सव पुनः सञ्चालन हुने जानकारी दिएको हो । संघका अध्यक्ष नारायण कार्कीले जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय मोरङको कात्तिक ५ गतेको पत्रअनुसार महोत्सव सञ्चालन गर्न लागिएको हो ।
यसअघि असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन गर्ने लक्ष्यसहित आयोजना गरिएको महोत्सव आवश्यक समन्वय तथा व्यवस्थापनका लागि स्थगित गरिएको थियो । पुनः सञ्चालनको तयारीसँगै आयोजकले महोत्सवलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
सुन्दरहरैँचा नगरपालिका-१०, विराटचोकस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको महोत्सवको उद्देश्य मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय व्यापार तथा व्यवसायको प्रवर्द्धन, पर्यटन विकास, स्थानीय उत्पादनको बजारीकरण र मौलिक परिकार तथा कला-संस्कृतिको संरक्षण गर्नु रहेको संघले जनाएको छ ।
‘कृषि, पर्यटन, उद्योग र व्यापार : आर्थिक समृद्धिको मूल आधार’ भन्ने नारासहित आयोजित महोत्सवले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने र सुन्दरहरैँचाको आर्थिक, सामाजिक तथा सांस्कृतिक पहिचानलाई स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सव पुनः सञ्चालनमा आएसँगै स्टल व्यवसायी, स्थानीय उद्योगी-व्यवसायी, कलाकार तथा दर्शकहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । महोत्सवलाई सफल बनाउन स्थानीय सरकार, सुरक्षा निकाय, सञ्चारकर्मी, व्यवसायी र नगरवासीको सहयोग तथा सहकार्य आवश्यक रहेको संघले जनाएको छ ।


