काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिए पनि श्यामकृष्ण खड्गीले उम्मेदवारी कायम राखेका छन् । यससँगै सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ ।
काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा सुरुमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका थिए । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा तीनै जनाको नाम समावेश थियो ।
तर राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत सभापति पदको प्रतिस्पर्धाबाट पछि हटेको घोषणा गर्दै गगन थापालाई समर्थन गर्ने बताएका छन् ।
राठौरले उम्मेदवारी फिर्ता लिएपछि गगन थापा निर्विरोध सभापति बन्ने सम्भावनाबारे चर्चा चुलिएको थियो । थापा पक्षले अर्का उम्मेदवार श्यामकृष्ण खड्गीसँग पनि सहमतिको प्रयास गरेको थियो ।
तर खड्गीले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेका छन् । उनले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् । खड्गीले उम्मेदवारी फिर्ता लिएको स्पष्ट छैन् ।
काँग्रेसको निर्वाचन कार्यतालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने छ । उम्मेदवारी फिर्ता लिने समय सकिएपछि निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गर्ने र त्यसपछि उम्मेदवारहरूले महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्यतालिका रहेको छ ।
यसैबिच, वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पदमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेकाले यी दुई पदमा निर्विरोध चयन भएको छ ।
सभापति पदमा भने राठौर पछि हटे पनि खड्गीले मैदान नछाडेपछि गगन थापाका लागि निर्वाचनको सामना गर्नुपर्ने अवस्था आएको हो ।
गगन थापा यसअघि विशेष महाधिवेशनबाट काँग्रेस सभापतिमा निर्वाचित भएका थिए । १५औँ महाधिवेशनमा उहाँ आफ्नो नेतृत्वलाई निरन्तरता दिने प्रयासमा हुनुहुन्छ भने खड्गीले प्रतिस्पर्धामार्फत नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन् ।
अब असोज २२ गते काँग्रेसको सभापति थापा हुने कि खड्गी भन्ने टुंगो लगाउनेछ ।


