बेलबारीमा ७५ दिने केलाङ प्रशिक्षण सुरु


बेलबारी । किरात याक्थुङ चुम्लुङ बेलबारी नगर शाखाले लिम्बू समुदायको मौलिक सांस्कृतिक नृत्य केलाङ (च्याब्रुङ नाच) संरक्षण तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले ७५ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । बेलबारीमा आयोजित कार्यक्रमका अवसरमा प्रशिक्षणको औपचारिक उद्घाटन गरिएको हो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ राष्ट्रिय परिषद् सदस्य डम्बर कुरुवाङ लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला सचिव कृष्ण मन्याङ्बो लिम्बू विशिष्ट अतिथि थिए ।

कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ बेलबारी नगर शाखाका अध्यक्ष बलबहादुर लिम्बूले गरेका थिए भने सञ्चालन नगर शाखाका सचिव यक्सो लिम्बूले गरेका थिए । उद्घाटन कार्यक्रममा पदम योङहाङ लिम्बू, शान्ति लिम्बू, मंगल नारायण लिम्बू, छत्रबहादुर लिम्बू, अकब लावती लगायतको उपस्थिति रहेको थियो ।

केलाङ अर्थात् च्याब्रुङ नाच याक्थुङ/लिम्बू समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको नृत्य हो । च्याब्रुङको तालमा सामूहिक रूपमा प्रस्तुत गरिने यस नृत्यमा समुदायको संस्कार, परम्परा र सांस्कृतिक पहिचान झल्किने भएकाले यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणलाई महत्त्वपूर्ण मानिन्छ ।

पछिल्लो समय विभिन्न स्थानमा युवापुस्तालाई लक्षित गरी केलाङ प्रशिक्षण सञ्चालन हुँदै आएका छन् । यस्ता प्रशिक्षणले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कला, संस्कृति र सीपलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्