सामुदायिक सर्पदंश उपचार समाजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न : १,०६५ बिरामीको उपचार


बेलबारी । मोरङको बेलबारी-४ स्थित सामुदायिक सर्पदंश उपचार समाजको तेस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । समाजकै सभाहलमा आयोजित साधारण सभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा उपचार सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ ।

साधारण सभामा अध्यक्ष प्रेमबहादुर गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार समाजले स्थापना भएयता हालसम्म १ हजार ६५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । उपचार गरिएकामध्ये ४९ जनामा विषालु सर्पको डसाइ पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ चैत १३ गते विधिवत् स्थापना भएको समाजले २०७९ वैशाख २ गतेदेखि बेलबारी नगरपालिका-३ को वडा कार्यालयको भुइँतलाबाट सर्पदंश उपचार सेवा सुरु गरेको थियो। करिब एक वर्षपछि बेलबारी-४ स्थित रेन्जपोस्टको जीर्ण भवन मर्मत गरी २०८० जेठ १६ गतेदेखि हालको स्थानबाट सेवा सञ्चालन गरिएको समाजले जनाएको छ । यसअघि पनि स्थानीयस्तरमा सेवा विस्तार भएपछि बेलबारीसहित आसपासका पालिकाका नागरिक लाभान्वित हुँदै आएका थिए ।

समाज र बेलबारी नगरपालिकाबीच भएको सम्झौताअनुसार उपचार केन्द्रको वार्षिक सञ्चालन खर्चको ७० प्रतिशत नगरपालिकाले र ३० प्रतिशत समाजले व्यहोर्दै आएको प्रतिवेदनमा उल्लेख छ । साझेदारी सम्झौता प्रत्येक वर्ष नवीकरण हुँदै आएको जनाइएको छ । साधारण सभामा समाजले उपचार केन्द्रलाई थप व्यवस्थित बनाउन तत्काल उपचार कक्ष तथा बिरामी भर्ना गर्ने हलसहितको भवन निर्माण, जेनेरेटर, कम्प्युटर तथा प्रिन्टर, घेराबारा र सुरक्षा गार्डको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

समाजका अनुसार उपचार केन्द्रका लागि ईसीजी मनिटर, भेन्टिलेटर, पोर्टेबल अक्सिजन मेसिन, स्ट्रेचर ट्रली, फोल्डिङ बेड, एम्बु ब्याग, अक्सिमिटर तथा इन्भर्टरलगायत उपकरण प्राप्त भइसकेका छन् । साथै केन्द्रलाई संघीय स्वास्थ्य मन्त्रालयमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको र जग्गाको भोगाधिकार तथा लिजसम्बन्धी प्रक्रिया पनि अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ ।

सर्पदंशबाट बच्ने उपाय तथा सर्पले टोकेपछि अपनाउनुपर्ने सावधानीबारे समाजले बेलबारीका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा बेलबारीका सबै वडा तथा छिमेकी स्थानीय तहमा यस्ता कार्यक्रम विस्तार गर्ने योजना समाजले अघि सारेको छ ।

समाजले कर्मचारीलाई सर्पदंश उपचारसम्बन्धी थप तालिम प्रदान गर्ने, आवश्यक जनशक्ति थप गर्ने, उपचार प्रोटोकलसम्बन्धी क्षमता विकास गर्ने तथा केन्द्रको भौतिक र प्राविधिक क्षमता विस्तार गर्ने भावी योजना सार्वजनिक गरेको छ । साधारण सभामा संस्थाका पदाधिकारी, सदस्य, आजीवन सदस्य तथा अतिथिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्