सियोल, दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सियोलमा नेपाली चर्चित ब्यान्ड नेपथ्यको विशेष लाइभ कन्सर्ट हुने भएको छ । आगामी २५ सेप्टेम्बर २०२६ मा आयोजना हुने नेपाल-कोरिया सांस्कृतिक एक्सचेन्ज फेस्टिभलमा नेपथ्यले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।
दक्षिण कोरियाको ग्योङ्गी प्रदेशअन्तर्गत गोयाङ सहरको किन्टेक्स हलमा आयोजना हुने महोत्सवलाई कोरियामा रहेका नेपाली समुदायको भाषा, संस्कृति, कला, संगीत र पहिचानसँग जोड्ने उद्देश्य राखिएको छ । विदेशी भूमिमा लामो समयदेखि बस्दै आएका नेपालीलाई आफ्नो देशको सांस्कृतिक वातावरण र नेपाली संगीतसँग पुनः जोड्ने प्रयासका रूपमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
कार्यक्रम आयोजक समूहका सदस्य अमर राईका अनुसार नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय समूह नेपथ्यको प्रत्यक्ष प्रस्तुतिले कार्यक्रमलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ । महोत्सव किन्टेक्स हलमा दिउँसो १ बजेदेखि सञ्चालन हुने राईले जनाए । उनका अनुसार कार्यक्रम स्थलमा दर्शकको प्रवेशका लागि ढोका बिहान ११ बजेदेखि खुला गरिने छ ।
आयोजक समूहका अर्का सदस्य मिम लिम्बुका अनुसार कार्यक्रम स्थल सियोलबाट समेत सहज रूपमा पुग्न सकिने स्थानमा रहेको छ । सियोलबाट जिटिएक्स-ए रेलमार्फत किन्टेक्स स्टेसन पुगेर पाँचौँ निकासबाट कार्यक्रम स्थल जान सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।
आयोजक समूहका सदस्य पारुहाङ राईले रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका नेपालीहरूले आफ्नो भाषा, संस्कार, संस्कृति र संगीतबाट टाढिनुपरेको अवस्थामा यस्ता कार्यक्रमले स्वदेशको सम्झना र भावनालाई जोड्ने बताए । उनका अनुसार नेपाली गीत-संगीत तथा सांस्कृतिक प्रस्तुतिले प्रवासमा रहेका नेपालीलाई आफ्नो मौलिक पहिचानसँग जोड्ने काम गर्नेछ ।
नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न कोरियामा रहेका नेपाली संगीतप्रेमी तथा नेपाली समुदायबाट उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ । महोत्सवमा सहभागी हुन चाहने दर्शकका लागि टिकट बुकिङको व्यवस्था गरिएको छ । टिकट बिक्री तथा व्यवस्थापनमा ह्यान्पाससहित विभिन्न संस्थाको सहकार्य रहेको आयोजकले जनाएको छ । टिकट लिन चाहने दर्शकलाई सार्वजनिक गरिएको क्यूआर संकेतमार्फत बुकिङ गर्न आग्रह गरिएको छ ।
कार्यक्रममा विभिन्न नेपाली समुदाय, व्यवसाय तथा सञ्चार संस्थाको समेत सहकार्य रहेको छ । ह्यान्पास टिकटिङ साझेदारका रूपमा रहेको छ । रोयल इन्डियन रेस्टुरेन्ट आयोजक र स्काइ, भेटघाट र स्काईवेलगायतका संस्थाहरू सह-प्रायोजकका रूपमा जोडिएका छन् ।
आयोजकले दक्षिण कोरियामा रहेका नेपाली समुदाय, नेपाली संगीतप्रेमी तथा नेपाल र नेपाली संस्कृतिप्रति रुचि राख्ने सबैलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ ।


