बेलबारी । विद्यालयस्तरमै साहित्यिक चेतना, सृजनशीलता र अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले बेलबारी साहित्य विकास समितिले आयोजना गरेको ‘विद्यालयमा कविता, विद्यार्थीको सिर्जना’ अभियानअन्तर्गतको कविता प्रतियोगिता ‘द पोएट आइडल-२०८३’ को ग्रान्ड फाइनल सम्पन्न भएको छ । बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी कविहरूबिच भएको प्रतिस्पर्धामा भगवती माध्यमिक विद्यालय बेलबारी-३ का छात्र प्रसान परियार प्रथम भएका छन् ।

प्रतियोगितामा सोही विद्यालयकी छात्रा मनु राई द्वितीय, कसेनी माध्यमिक विद्यालय बेलबारी-४ की छात्रा दिनिसा कुलुङ तृतीय तथा भानु मेमोरियल स्कुल बेलबारी-१ की छात्रा कृपा सुवेदी सान्त्वना पुरस्कार विजेता घोषित भएका छन् । उत्कृष्ट चार विद्यार्थीलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाका अनुसार प्रतियोगितामा प्रारम्भिक छनोटका दुई चरण पार गर्दै उत्कृष्ट १० जना विद्यार्थी फाइनलमा पुगेका थिए । फाइनल चरणसम्म आइपुग्दा कविता लेखन, वाचन, प्रस्तुति कला तथा समग्र सिर्जनात्मक क्षमताका आधारमा मूल्याङ्कन गरिएको थियो । कवि भरत बर्बरिक, साहित्यकार अशोक साम्पाङ (विद्रोही कान्छा) र साहित्यकार उमा सिजापति सम्मिलित निर्णायक मण्डलले प्राप्ताङ्कका आधारमा अन्तिम नतिजा घोषणा गरेका हुन ।

फाइनलमा तपस्या श्री ढकाल, युसन सापकोटा, दिनिसा कुलुङ, कृपा सुवेदी, मनु राई, प्राप्ति दाहाल, प्रसान परियार, प्रिसियस खत्री, रेश्ना घिमिरे र सीता थापालगायत विद्यार्थीहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरे । उनीहरूले समाज, शिक्षा, प्रकृति, मानव संवेदना, सपना र समकालीन विषयवस्तुलाई कवितामार्फत प्रभावकारी ढङ्गले अभिव्यक्त गरेका थिए ।

प्रतियोगिताका शीर्ष १० मध्ये बाँकी ६ जना सहभागीलाई साहित्यिक पुस्तक, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरियो । कार्यक्रममा विद्यार्थीहरूको सृजनशील क्षमता र साहित्यप्रतिको आकर्षणले साहित्यकारहरूलाई प्रभावित बनाएको थियो । साहित्यकार प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्य तथा अग्रज साहित्यकार हर्कमान तामाङको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू ईरान राई, तिला लेकाली, केशु विरही, रामराम प्र. खरेल, विनोद विवश घिमिरे, पुरन याक्खा, शेरबहादुर मगर, गीता प्र. श्रेष्ठ, शेखर थापा मगर, धनजित पराजुली, केपी घिमिरे, यज्ञ सुवेदी, रुपनारायण श्रेष्ठ, प्रेम गुरुङ, तीर्थ सिग्देल, रामचन्द्र घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा अभिभावकहरू सहभागिता रहेको कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो । समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रम सञ्चालन कोषाध्यक्ष शिव पराजुलीले गरेका थिए ।






