उदयपुर । अविरल वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–४ लालबजार नजिकैको अमन खोलामा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जनाको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मोरङको विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ४ ख १६२८ नम्बरको हायस गाडी सिन्धुलीको भिमानसम्म पुगेपछि पुनः फर्कने क्रममा राति करिब १२ बजे खोलाले बगाएको हो। गाडीमा चालकसहित २२ जना सवार थिए।
इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त टोलीले घटनास्थलमै तत्काल उद्धार कार्य सञ्चालन गरी २१ जनालाई सुरक्षित निकालेको थियो। तर, एकजना बेपत्ता भएकी थिइन्।
बेपत्ताको खोजी गर्ने क्रममा बिहान गिदेरी खोलानजिकै, बगाएको स्थानदेखि करिब डेढ किलोमिटर तल मोरङ सुन्दरहरैचा नगरपालिका बस्ने ४० वर्षीया मञ्जु अधिकारीको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलकाका प्रमुख मौसम उदासले जानकारी दिए।
घटनापछि स्थानीय प्रशासनले यात्रु तथा नदी किनारका बासिन्दालाई जोखिम बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ।