प्रलेसको देशभर सुकुमबासीमाथिको ज्यादतीको सिर्जनात्मक विरोध


बेलबारी, मोरङ । इलाम, झापा, मोरङ र सुनसरीका प्रगतिशील लेखकहरूले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूमाथि सरकारले अन्धाधुन्ध रूपमा गरेको ज्यादतीको सिर्जनाहरू वाचन गरेर सिर्जनात्मक विरोध जनाएका छन् ।

प्रलेस, कोशी प्रदेश समितिका अध्यक्ष विन्दु दाहाल मूकदर्शकको अध्यक्षता तथा प्रलेस, केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको प्रमुख आतिथ्यमा स्रष्टाहरूले रचना वाचन गरेका थिए । इलामका डा. देवी दुलाल क्षेत्री, मोरङका ईरानराई, एकराज भट्टराई, खेम नेपाली, तिला लेकाली, बाबुराम पोखरेल, दीप मङ्ग्राती, भीम कोइराला, भवानीप्रसाद पोखरेल, शैलेन्द्र घिमिरे, झापाका विन्दु दाहाल मूकदर्शक तथा सुनसरीका विमला पोखरेल र कृष्ण नेपाल सहभागी थिए ।

प्रलेस केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले बालेन्द्र सरकारले गरिब भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको घरबार बिनामानवीयता भत्काइदिएको तथा देशभर आतङ्क सिर्जना गरेको हुनाले प्रलेसले सातैओटा प्रदेश, ६४ जिल्ला र १४ पालिकाहरूमा स्रष्टाहरूले आआफ्नो सिर्जनामार्फत अपराह्न तीन बजे सडक साहित्य गोष्ठी कार्यक्रम गरी विरोध जनाइरहेको बताए । कतिपय भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई स्थानान्तर गर्नुपरेमा पहिला गाँस, बास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीको व्यवस्थापन गरेर मात्र स्थानान्तर गर्नुपर्ने बताए ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङको अगाडिपट्टिको सडकमा उक्त सडक साहित्य विरोध गोष्ठी सञ्चालन गरिएको थियो । कार्यक्रममा करिब चालिस जना प्रगतिशील स्रष्टाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्