दोस्रो बेलबारी महोत्सवमा अन्तर-विद्यालय वक्तृत्व, गायन र चित्रकला प्रतियोगिता


बेलबारी । पुष २५ गतेदेखि सुरु भएको दोस्रो बेलबारी महोत्सव-२०८२ उत्साहपूर्ण रूपमा जारी रहेको छ । महोत्सवअन्तर्गत दिउँसो सञ्चालन हुने शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरूमा अन्तर-विद्यालयस्तरीय प्रतियोगिताहरू आयोजना गरिने भएको छ ।

आयोजकका अनुसार माघ २ गते शुक्रवार अन्तर विद्यालय बेलबारी वक्तृत्व प्रतियोगिता, माघ ३ गते अन्तर विद्यालय बेलबारी गायन प्रतियोगिता र माघ ४ गते अन्तर विद्यालय बेलबारी चित्रकला प्रतियोगिता हुने भएको छ । सबै प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुनेछन् । प्रतियोगितामा बेलबारी नगरभित्रका सम्पूर्ण माध्यमिक तहका विद्यालयहरूको सहभागिता रहने दिउँसो कार्यक्रमका सहजकर्ता विकास बुढाथोकीले जानकारी दिए ।

“स्वदेशी उत्पादन, स्वावलम्बी अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित सञ्चालन भइरहेको महोत्सवमा दिउँसो शैक्षिक, सिर्जनात्मक तथा आत्मनिर्भर अर्थतन्त्रको खोजसँग सम्बन्धित कार्यक्रमहरू भइरहेको छ । स्वदेशी उत्पादनको सम्मान, स्थानीय उद्योग, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यसहित विविध कार्यक्रमहरू समावेश गरिएका छन् । साँझको समयमा भने स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक तथा नृत्य प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाइरहेको छ ।

बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष सन्दीप राईका अनुसार महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ । उनले प्रतियोगिता, प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम अवलोकन गर्न सबैलाई महोत्सव स्थलमा उपस्थित भई सहभागी हुन निमन्त्रणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्