दोस्रो बेलबारी महोत्सवको प्रवर्द्धनमा ‘बेलबारी रन’ सम्पन्न : टंकबहादुर-पुष्पा-विजयकुमार बने विजेता


बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा ‘अब दौडिन्छ बेलबारी’ भन्ने मूल नारासहित बेलबारी रन सम्पन्न भएको छ । पुष २५ गतेदेखि सुरु हुन लागेको दोस्रो बेलबारी महोत्सव २०८२ को प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रवार ५ तथा १० किलोमिटर दूरीका दौड प्रतियोगिता आयोजना गरिएको हो ।

बेलबारी-११ लक्ष्मीमार्गमा सम्पन्न रनमा करिब १ सय ५० जना धावकहरूको सहभागिता रहेको थियो । विभिन्न जिल्ला तथा स्थानीय तहबाट सहभागी धावकहरूले प्रतिस्पर्धात्मक रूपमा दौड पूरा गर्दै कार्यक्रमलाई थप रोमाञ्चक बनाएका थिए । खेलकुदमार्फत महोत्सवप्रति जनचासो बढाउने र स्वस्थ जीवनशैलीप्रति नागरिकलाई प्रेरित गर्ने उद्देश्य यस कार्यक्रमको रहेको आयोजकले जनाएको छ ।

खुल्ला महिला समूहअन्तर्गत ५ किलोमिटर दौडमा मिक्लाजुङकी १९ वर्षीया पुष्पा सेमा प्रथम भइन् । उनले नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो स्थानमा खोटाङकी २५ वर्षीया दिपा बस्नेत रहिन्, जसले १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारिन् । तेस्रो स्थान उर्लाबारी-८ की १६ वर्षीया मन्दीरा महतराले हासिल गर्दै ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

खुल्ला पुरुष समूहअन्तर्गत १० किलोमिटर दौडमा ओखलढुङ्गाका ३० वर्षीया टंकबहादुर कार्की प्रथम बने । उनले २५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो स्थान तेह्रथुमका २६ वर्षीया सरोज लिम्बुले हासिल गर्दै १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए। तेस्रो स्थानमा ओखलढुङ्गाका ३१ वर्षीया सुभाष कार्की रहँदै १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

४०-४९ वर्ष उमेर समूहका भेट्रान धावकतर्फ ५ किलोमिटर दौडमा धरानका ४८ वर्षीया विजयकुमार राई प्रथम बने । उनले १५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो स्थान झापा शिवसताक्षीका ४५ वर्षीया राजकुमार विष्टले हासिल गर्दै १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए भने तेस्रो स्थान इटहरीका ४५ वर्षीया शान्तबहादुर थिङले प्राप्त गर्दै ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र उपप्रमुख नितु थापा कोइरालाले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । उद्घाटन समारोहमा नगर प्रमुख राईले बेलबारी रनले दोस्रो बेलबारी महोत्सवको प्रवर्द्धन मात्र नभई खेलकुदमार्फत नगरको पहिचान स्थापित गर्न र नागरिकको स्वास्थ्यमा सकारात्मक सन्देश दिन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

बेलबारी रनका खेल संयोजक तथा बेलबारी उद्योग वाणिज्य संघका सचिवालय सदस्य शिवकुमार राईका अनुसार प्रतियोगितालाई खुल्ला पुरुष, खुल्ला महिला र भेट्रान गरी तीन समूहमा वर्गीकरण गरिएको थियो । विजेता तथा उपविजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले दोस्रो बेलबारी महोत्सवलाई सफल बनाउन समुदायलाई जोड्ने माध्यमका रूपमा बेलबारी रन आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रमले नगरमा एकता, उत्साह र महोत्सवप्रतिको चासो अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघ-संस्थाका पदाधिकारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्