काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको संविधानलाई पुनः सही दिशामा ल्याउन फागुन २१ गते नै निर्वाचन गराउनुको विकल्प नभएको बताएका छन् । बुधवार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भएयता संविधान क्रमशः ट्र्याकबाहिर गएको दाबी गरे ।
डा. कोइरालाका अनुसार तोकिएको समयमा निर्वाचन हुन नसके मुलुक गम्भीर संवैधानिक सङ्कटतर्फ जाने खतरा बढ्दै गएको छ । “फागुन २१ गते निर्वाचन भएन भने झन् ठुलो संवैधानिक सङ्कट आउनेछ,” उनले भने, “यसै कारण नेपाली काँग्रेसले निर्वाचनमा दृढताका साथ जोड दिइरहेको हो ।”
उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकार असफल भएको आरोप लगाए । “तोकिएको समयमा निर्वाचन गराउने हाम्रो चाहना थियो, तर सरकारले त्यसका लागि आवश्यक वातावरण नै बनाउन सकेन,” कोइरालाले भने । निर्वाचन हुन नसके संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुँदै जाने उनको भनाइ थियो, जसले राजनीतिक अस्थिरता अझ बढाउन सक्ने उनले चेतावनी दिए ।
नेता कोइरालाले पार्टीको आन्तरिक राजनीतिबारे पनि स्पष्ट धारणा राखे । उनले आगामी महाधिवेशनमा आफू नेपाली काँग्रेसको सभापतिको उम्मेदवार हुने स्पष्ट पार्दै पार्टी विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार बन्न नमिल्ने बताए । विधानको सम्मान गर्दै नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।


