पार्टी शीर्ष नेताहरू उमेरमा उत्तरार्धतिर भए पनि सक्रियता जेनजीभन्दा कम छैन : प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताहरू उमेरका हिसाबले उत्तरार्धतिर पुगे पनि राष्ट्रप्रतिको जिम्मेवारी र राजनीतिक सक्रियताका दृष्टिले आफूहरू जेनजी पुस्ताका युवाभन्दा पनि कमजोर नरहेको बताएका छन्। राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले उमेरभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्ने मनोबल र ऊर्जा आफूहरूसँग अझै रहेकाले राजनीतिक रूपान्तरणको यात्रामा पूर्ण रूपले संलग्न रहने प्रतिबद्धता व्यक्त गरे।

प्रचण्डले पार्टीभित्रका शीर्ष नेताहरू उमेरिलो पुस्तामा प्रवेश गरिसक्दा पनि समाजवादको मार्गतर्फ अघि बढ्न आवश्यक राजनीतिक दूरदृष्टि, अनुशासन र संगठित कार्यदक्षता युवापुस्तासँगै प्रतिस्पर्धा गर्ने स्तरमै रहेको बताए। “राष्ट्र बचाउनुपर्छ भन्ने विषयमा, समाजवादको यात्रा अघि बढाउनुपर्छ भन्ने विषयमा हामी कुनै जेनजी युवाभन्दा कम छैनौँ,” उनले भने, “अन्तिम अवस्थासम्म हामी अभिभावकीय भूमिका पूरा गर्न चाहन्छौँ, जेनजी युवाहरूको तागतसमेत जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौँ।”

साथै, उनले आफूलाई ‘पदमा लिप्त’ व्यक्तिका रूपमा व्याख्या नगरिन आग्रह गर्दै पद नै एजेन्डा नभएको स्पष्ट पारे। “पदमा बसिरहन खोजे भनेर आरोप लाग्छ। तर हामीलाई पद जरुरी छ भन्ने होइन,” प्रचण्डले भने, “देशमा सक्रिय र रूपान्तरणकारी राजनीति गर्ने वातावरण बन्नु मुख्य कुरा हो, पद ठुलो होइन।”

प्रतिक्रिया दिनुहोस्