काँग्रेसका महामन्त्री गगन थापा भन्छन्,”काठमाडौँमा बालेनको उदय हाम्रो निर्णयको गल्तीका कारण भयो”


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरका लागि उम्मेदवार छनोटदेखि निर्वाचन प्रक्रियासम्म पार्टीको कमजोरीकै कारण बालेन शाहको उदय सम्भव भएको स्वीकार गरेका छन्।

आज काठमाडौँमा बसेको नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आफूले विगतमा गरेका गल्तीहरूको समीक्षा गर्दै सो प्रसङ्ग कोट्याएका हुन्। उनले स्थानीय तह निर्वाचनका बेला पार्टी नेतृत्वले गरेका निर्णयहरू राजनीतिक दृष्टिले गम्भीर परिणाम दिने किसिमका रहेको उल्लेख गरे।

थापाले भने, “स्थानीय तहको निर्वाचनमा टिकट वितरणका बेला सभापतिज्यूले मलाई बोलाउनुभयो। मैले उहाँलाई भनेँ, यो निर्णयले भविष्यमा ठुलो मूल्य चुकाउनुपर्छ। यो निर्णय नगर्नुस् भनेर आग्रह गरेको थिएँ तर मैले रोक्न सकिनँ। त्यो मेरो गल्ती हो।”

उनका अनुसार, काठमाडौँ महानगरपालिकामा पार्टीको उम्मेदवारी वितरणको क्रममा आफूले अन्तिमसम्म सचेत गराए पनि सभापतिले ‘बोली दिइसकेको’ भन्दै निर्णय परिवर्तन नगरेका थिए। “त्यो बेला मैले अडान लिनै पर्थ्यो, घुँडा धस्न हुँदैनथ्यो। रोक्न सकिनँ, त्यसैले आजको राजनीतिक परिस्थितिको केही मूल्य हामीले तिर्नुपरेको हो,” उनले आत्मआलोचनात्मक ढंगमा भने।

महामन्त्री थापाले सभापतिसँगको संवाद स्मरण गर्दै भने, “मैले भनेँ, सभापतिज्यू, यो निर्णयले ठुलो असर पार्छ। उहाँले ‘यार मिल्दैन यार’ भन्नुभयो। तर आज त्यो निर्णयको प्रभाव सम्पूर्ण नेपाली राजनीतिमा देखिएको छ।”

थापाले हाल पनि पार्टीभित्र नेतृत्व शैली र निर्णय प्रक्रियामा सुधार आवश्यक रहेको उल्लेख गर्दै काँग्रेसले आत्मसमीक्षा र सुधारको बाटो समात्नुपर्ने धारणा राखे। उनका अनुसार, जिम्मेवार राजनीतिक दलका रूपमा नेपाली काँग्रेसले आन्तरिक लोकतन्त्रलाई व्यवहारमा उतार्न सकेमा मात्र भविष्यमा पुनः जनविश्वास कायम गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्