मोरङ । जनता समाजवादी पार्टी (जसपा) बेलबारी नगर समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूले पार्टी परित्याग गरेका छन् । आइतबार मिति २०८२ साल कार्तिक १९ गते जारी विज्ञप्तिमार्फत उनीहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
विज्ञप्ति अनुसार, संघीयता, सुशासन, समृद्धि, समाजवाद, धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी राज्य व्यवस्थाको पक्षमा आवाज उठाउँदै २०६९ सालमा अशोक राई नेतृत्वमा स्थापना भएको तत्कालीन संघीय समाजवादी पार्टी हुँदै संघीय समाजवादी फोरम नेपाल र पछिल्लो चरणमा जसपासम्म आइपुगेको राजनीतिक यात्रामा आफूहरूले तन, मन, धन र ज्ञानले योगदान गर्दै आएको उल्लेख छ ।
तर, जसपाको वर्तमान नेतृत्वले पार्टीका मूल विचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थ, पद र सत्ता भागबण्डालाई प्राथमिकता दिएको आरोप विज्ञप्तिमा गरिएको छ । “पार्टीका शीर्ष नेताहरूको घमण्ड, आ-आफ्नो स्वार्थ र सत्ता मोहकै कारण पटक–पटक फुटजोड दोहोरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यसले इमानदार कार्यकर्ता र समर्थकहरूमा नैराश्यता र वितृष्णा फैलाएको छ ।”
पार्टीले ठोस जनमुखी कार्यक्रम नलिएर केवल भाषण र पद केन्द्रित राजनीतिको अभ्यास गरेपछि आम जनतामाझ जसपाप्रतिको आकर्षण घट्दै गएको विज्ञप्तिमा उल्लेख छ । पार्टीको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जिम्मेवारीप्रति कृतज्ञता प्रकट गरेका छन् ।
सामूहिक रूपमा पार्टी परित्याग गर्नेहरूमा अध्यक्ष अमिर मगर, उपाध्यक्ष लिला राई ललाट, उपाध्यक्ष सन्तोष तामाङ, सचिव शिवकुमार राई, सहसचिव शशी राई, कोषाध्यक्ष बासुदेव राई, सदस्यहरू जगत धिमाल, दिलकुमार तामाङ, बिरबल राई, आशिष घोण्डे गुरुङ, मिलन राई, सोना राई, रतन राई, हरिनारायण कलवार र रमेश गुरुङ लगायत रहेका छन् ।



