काठमाडौँ । वामपन्थी शक्तिहरूलाई एकीकृत गर्ने उद्देश्यसहित आठ वाम दलले पार्टी एकता सहमति पत्रमा हस्ताक्षर गरेका छन्। शनिवार काठमाडौँको पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकपछि १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिको कागजमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार आठ दलबिच वामपन्थी आन्दोलनलाई सुदृढ गर्दै समाजवादी, जनमुखी र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने साझा ध्येयसहित एकीकृत पार्टी निर्माण प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। साथै, देशमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका लागि साझा नीति तथा कार्यक्रम तय गर्दै एकीकृत रूपमै आगामी गतिविधि सञ्चालन गर्ने सहमति भएको छ।
यसअघि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिले शुक्रवार माओवादी केन्द्रसहितका वाम दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट माओवादी केन्द्रले पनि औपचारिक रूपमा एकता प्रस्ताव पारित गर्दै वामपन्थी एकता अभियानलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको हो।
संयुक्त सहमति पत्रमा पार्टी एकताको संरचना, कार्यदिशा, संगठनात्मक संयोजन, वैचारिक एकता, नेतृत्व संयोजन, राष्ट्रिय परिषद् र केन्द्रीय समिति गठनदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मको समन्वयका विषय समेटिएका छन्।


