काठमाडौँ । राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटपाट गरी बिक्रीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमा धादिङको धुनिवेशी गाउँपालिका निवासी २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ महानगरपालिका–१५ का २५ वर्षीय रजन देउला, विजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य, नयाँ बानेश्वर बस्ने ३८ वर्षीय प्रभात मल्ल र भारतको सितामढीका २४ वर्षीय अकबर खान रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार, कृष्ण गुरुङ नै पेस्तोल लुटपाटमा प्रत्यक्ष संलग्न रहेको देखिएको छ भने रजन देउला, सुमिन शाक्य र अकबर खान उक्त हतियारको बिक्री तथा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
त्यसै गरी, प्रभात मल्ल पेस्तोल खरिद गर्ने व्यक्ति भएको प्रहरीको भनाइ छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट एक थान पेस्तोल, एक म्यागेजिन र १५ राउण्ड गोली बरामद गरेको छ। घटनामा प्रयोग भएको अन्य सामग्री र सम्भावित संलग्नताबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरू विरुद्ध हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको अनुसन्धान म्याद लिइएको छ।


