नेकपा एस र माओवादी केन्द्रबिच एकता गर्ने निर्णय


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ। बुधवारदेखि सुरु भएको बैठक शुक्रवार सम्पन्न हुँदै अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको एकता प्रस्ताव बहुमतले अनुमोदन गरेको हो।

बैठकमा अध्यक्ष नेपालले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)सँग पार्टी एकता गर्न आवश्यक तयारी अघि बढाउनुपर्ने प्रस्ताव राखेका थिए। प्रस्तावलाई समर्थन गर्दै अधिकांश केन्द्रीय सदस्यहरूले एकतालाई वाम एकताको दिशामा सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्। बैठकले एकतासम्बन्धी बाँकी गृहकार्य पार्टी सचिवालयलाई अघि बढाउने जिम्मेवारी पनि सुम्पेको छ।

तर, निर्णय सर्वसम्मत भने हुन सकेन। करिब दर्जनभन्दा बढी नेताहरूले एकता प्रक्रियामा सहभागी नहुने बताएका छन्। पार्टीभित्रै असहमति देखिँदा केही वरिष्ठ नेताहरूले एकताप्रति आपत्ति जनाउँदै अलग धारणा व्यक्त गरेका छन्।

स्रोतका अनुसार, सम्माननीय नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, र महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग एकता नगर्ने स्पष्ट धारणा व्यक्त गरिसकेका छन्। त्यस्तै, स्थायी कमिटी सदस्य विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि एकता प्रक्रियामा सहभागी नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्