‘जेनजी युनाइटेड’ द्वारा माइतीघरमा प्रदर्शन : शहीदको बलिदान नबिर्सन र एकताको आह्वान


काठमाडौँ । शहीदहरूको बलिदानलाई सम्झँदै र जेनजी आन्दोलनका विभिन्न समूहबिच एकता कायम गर्न ‘जेनजी युनाइटेड’ नामक समूहले शुक्रवार काठमाडौँको माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । ‘रगतको बलिदान बिर्सनु अपराध हो’, ‘जेनजी एक हौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी भएका युवायुवती, बालबालिका र शहीद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको प्रदर्शनमा एकताको सन्देश गुन्जिएको थियो ।

जेनजी युनाइटेडका प्रदर्शनकारीहरूले सबै जिल्लामा जेनजी सम्मेलन सञ्चालन गरी काठमाडौँमा केन्द्रीय सम्मेलन आयोजना गर्न माग गरेका छन् । उनीहरूका अनुसार, जिल्ला र प्रदेशगत सम्मेलन सम्पन्न भएपछि देशभरका प्रतिनिधिहरूको सहभागितामा केन्द्रीय सम्मेलनमार्फत जेनजी आन्दोलनलाई संस्थागत बनाउने योजना छ ।

कार्यक्रममा बोल्दै जेनजीकी प्रतिनिधि सदीक्षा राईले भनिन्, “अब सबै जिल्लामा सम्मेलनको लहर सुरु गर्नुपर्छ । त्यसपछि काठमाडौँमा राष्ट्रिय सम्मेलन गरी देशभरका प्रतिनिधिहरू एक ठाउँमा भेला हुनुपर्छ। यसरी मात्रै आन्दोलनलाई दिगो रूप दिन सकिन्छ ।”

उनले वर्तमान सरकार शहीदहरूको रगत र जनताको बलिदानबाट जन्मिएको भन्दै भनेकी थिइन्, “यो सरकार नेताहरूको मात्र होइन, शहीदको सपना र नयाँ पुस्ताको भविष्यको जिम्मेवारी बोकेको संस्था हो । यसले नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको रक्षा गर्नुपर्छ ।”

यसअघि बिहीबार पनि जेनजी युनाइटेडले शहीदहरूको सम्झनामा श्रद्धाञ्जलीसहित भाइटीका कार्यक्रम सम्पन्न गरेको थियो । त्यस अवसरमा माइतीघर मण्डलामा भेला भएका सदस्यहरूले मौन धारण गर्दै शान्तिपूर्ण प्रदर्शनमार्फत देशभरका युवालाई एकताको सन्देश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्