काठमाडौँ । नेकपा (एमाले) ले आफ्नो ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ । शुक्रवार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन र मुलुकको वर्तमान परिस्थिति सम्बन्धी विशेष प्रस्ताव पारित गर्दै महाधिवेशन पोखरामा गर्ने औपचारिक निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकाल्दै त्यसका लागि लोकतन्त्र र संविधान पक्षहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ । साथै, मुलुकमा राष्ट्रिय एकता कायम गर्न पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने र एकताबद्ध भएर अघि बढ्ने नीति पनि बैठकले अंगिकार गरेको छ ।
बैठकले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गर्दै दोषीमाथि कारबाही गरिनुपर्ने कुरा पनि जोड दिएको छ । अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए, जसलाई हलले पारित गरेको छ । तर प्रतिवेदन पारित गर्ने क्रममा उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले केही विरोध जनाएका थिए ।
त्यसै गरी, ५० जना केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गरेपछि अध्यक्ष ओलीले त्यसबारे पूर्वराष्ट्रपति भण्डारीसँग कुरा गर्ने संकेत दिएका छन्। अध्यक्ष ओलीले भने, “विद्या भण्डारीले मलाई फोन गर्नुभएको थियो, तर म व्यस्त रहेँ। बैठक सकिएपछि उहाँसँग कुरा गर्नेछु। सदस्यताका लागि निवेदन आएमा निर्णय गर्न सकिन्छ।”