काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधानको मर्म र प्रक्रिया उल्लङ्घन गर्दै गठन गरिएको भन्दै यसलाई असंवैधानिक ठहर गरेका छन् । उनले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक अन्योलको समाधान संविधानसम्मत बाटोबाट खोज्नुपर्ने बताउँदै अहिलेको सरकार त्यस बाटोविपरीत बनेको टिप्पणी गरेका हुन् ।
बुधवारदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले भने, “कामचलाउ सरकारको प्रधानमन्त्रीको हैसियतले मैले संविधानसम्मत निकासको सिफारिस गरेको थिएँ, तर त्यस सिफारिसलाई बेवास्ता गर्दै संविधानबाहिरबाट सरकार गठन गरिएको छ । त्यसैले यो सरकार असंवैधानिक हो ।”
उनका अनुसार एमालेले असामान्य परिस्थितिमा समेत संसद् र संविधानको दायराभित्र रहेर मात्र समाधान खोज्ने अडान लिएको थियो । उनले गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउने आवश्यकता परे पनि त्यसका लागि संविधान संशोधनको प्रक्रिया अवलम्बन गर्नुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताए ।
ओलीले प्रतिवेदनमार्फत भनेका छन्, “प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न अन्योलपूर्ण अवस्थालाई निकास दिन एमालेले संविधानसम्मत विकल्पहरू अघि सारेको थियो । तर त्यसलाई उपेक्षा गर्दै संविधानको मर्मविपरीत सरकार बनाइएको छ, जुन लोकतान्त्रिक अभ्यासका लागि खतरनाक उदाहरण हो ।”