‘जेनजीका जायज माग सम्बोधन हुनुपर्छ’ : देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘जेनजी आन्दोलन’ले उठाएका मागहरू जायज रहेको बताउँदै ती मागलाई सरकारले संवेदनशीलताका साथ सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । मङ्गलवार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले जेनजी समूहले उठाएका विषयहरू सुशासन, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष जोडिएका भएकाले सरकार र सम्बन्धित निकायले गम्भीर रूपमा लिनुपर्ने बताए ।

देउवाले भने, “जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता कायम रहोस् भन्ने जायज माग राखेका छन् । यी विषयहरू लोकतन्त्रका आधारभूत तत्त्व हुन्, त्यसैले सम्बोधन हुनै पर्छ भन्ने मेरो धारणा छ ।”

तर, उनले पछिल्ला प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै त्यसमा सुनियोजित समूहको संलग्नता देखिएको दाबी पनि गरे । देउवाका अनुसार प्रदर्शन शान्तिपूर्ण मागका रूपमा सुरु भए पनि त्यसलाई योजनाबद्ध रूपमा तोडफोड र आगजनीतर्फ धकेल्ने प्रयास भएको तथ्यहरू सार्वजनिक हुँदै गइरहेका छन् ।

उनले भने, “यो अकल्पनीय, अमानवीय र त्रासदीपूर्ण रूपमा भएको घटना आकस्मिक वा स्वतःस्फूर्त होइन । यसमा योजनाबद्धता देखिन्छ, त्यसैले निष्पक्ष अनुसन्धान आवश्यक छ ।”

देउवाले घटनाका सबै पक्षलाई निष्पक्ष र तथ्यमा आधारित अनुसन्धानको दायरामा ल्याउन आग्रह गरे । उनका अनुसार यो अनुसन्धान कुनै राजनीतिक स्वार्थ वा तात्कालिक नाफा–घाटाको दृष्टिले होइन, देशको दीर्घकालीन हित र स्थायित्वका लागि अघि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्