काठमाडौँ । गृह मन्त्रालयले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटाइएको टोलीमा कटौती गरेको छ । मन्त्रालयका उच्च स्रोतका अनुसार दुवै नेताको सुरक्षामा मापदण्डभन्दा बढी सुरक्षाकर्मी तैनाथ रहेको भन्दै आवश्यक संख्या मात्र कायम गरिएको हो ।
मन्त्रालयका अनुसार ओलीसँग खटिएका २८ सुरक्षाकर्मीलाई बिहीबार फिर्ता बोलाइएको छ भने दाहालसँग खटिएका ३४ सुरक्षाकर्मीलाई पनि हटाइएको छ । यसअघि दाहालको सुरक्षामा ५२ सुरक्षाकर्मी खटिँदै आएका थिए ।
“विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिलाई तोकिएकै मापदण्डमा सुरक्षा व्यवस्था मिलाइने भएको हो,” स्रोतले भन्यो । गृह मन्त्रालयले यस निर्णयलाई नियमित सुरक्षासंरचना पुनरावलोकनको हिस्सा बताएको छ र यसलाई कुनै राजनीतिक आशयसँग नजोड्न आग्रह गरेको छ ।