बालेन र ‘हामी नेपाल’का सुदन गुरुङविरुद्ध जाहेरी


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दर्ता गरेको छ।

अनेरास्ववियुले सिंहदरबारलगायतका सरकारी संरचनामा आगजनी, निजी सम्पत्तिमा तोडफोड तथा प्रहरीको हत्या जस्ता घटनामा बालेन र गुरुङको संलग्नता रहेको आरोप लगाएको छ । जाहेरी दर्ता भएपछि प्रहरी प्रशासनले सरकारी वकिलसँग परामर्श गर्दै कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार जाहेरी दर्ता गर्ने वा नगर्नेबारेको निर्णय २४ घण्टाभित्र लिइनेछ। अखिलका पूर्वअध्यक्ष समीक बडालले आफूहरू कानुनी राज्य र विधिको शासनको पक्षमा उभिएरै जाहेरी दर्ता गरेको बताए । उनका अनुसार, प्रहरीको निर्णय आएपछि संगठनले आवश्यक कानुनी र राजनीतिक कदम चाल्ने तयारी गरेको छ ।

यस घटनाले राजनीतिक वृत्तमा नयाँ चर्चा उत्पन्न गरेको छ । एकातिर, विद्यार्थी संगठनले कानुन अनुसार कारबाहीको माग गरिरहेका छन् भने अर्कातिर, बालेन समर्थकहरू सामाजिक सञ्जालमार्फत यो कदमलाई ‘राजनीतिक प्रतिशोध’को रूपमा चित्रण गरिरहेका छन् । प्रहरी प्रशासन अहिले कानुनी परामर्शका क्रममा छ र जाहेरी स्वीकृत हुने वा नहुने विषयमा अन्तिम निर्णय आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्