प्रचण्ड नेतृत्व हस्तान्तरणमा होइन, मोर्चा र एकताको तयारीमा केन्द्रित


काठमाडौँ । जेनजी आन्दोलनपछि माओवादी केन्द्रभित्र नेतृत्व हस्तान्तरणको माग बढ्दै गए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्काल पदबाट हट्ने सोचमा छैनन् । बरु उनले पार्टीभित्र र बाहिर “एजेन्डा मिल्नेहरूसँग मोर्चा विस्तार, विचार मिल्नेहरूसँग एकता” को नयाँ रणनीति अघि सारेका छन् ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको महाधिवेशन आयोजक समिति सचिवालय बैठकमा अध्यक्ष समेत रहेका प्रचण्डले हालको राजनीतिक जटिलता, प्राकृतिक विपद् र आगामी कार्य योजनाबारे नेताहरूसँग विस्तृत छलफल गरेका थिए । बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रचण्डले मोर्चा र एकताको दिशामा सकारात्मक संवाद भइरहेको बताएका जानकारी दिए । उनका अनुसार अध्यक्ष प्रचण्डले पार्टीभित्र विचार र एजेन्डाको स्पष्टता कायम राख्दै राजनीतिक सहकार्य र पुनर्संरचनाको प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

यसअघि सम्पन्न केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनले उठाएका विषयहरूको गम्भीर समीक्षा गर्ने र मंसिरमा विशेष महाधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । त्यसै बैठकमा प्रचण्डले युवापुस्ताको भूमिकालाई सशक्त बनाउने प्रतिबद्धता जनाएका थिए । तर, नेतृत्व हस्तान्तरणको माग बढे पनि प्रचण्ड सत्ताको लगाम आफूसँगै राख्ने पक्षमा देखिन्छन् । पार्टीभित्र सन्तुलन कायम गर्दै सम्भावित एकता र मोर्चा विस्तारमार्फत आफ्नो प्रभाव कायम राख्ने रणनीतिमा उनी केन्द्रित छन् ।

सचिवालयको अर्को बैठक दुई दिनपछि बस्ने र त्यहाँ महाधिवेशन तयारी, मोर्चा विस्तार तथा सम्भावित एकता प्रक्रियाबारे थप निर्णय हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्