काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते ललितपुरमा भएका तोडफोड र आगजनी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई मंगलबार छाड्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले थुनुवा कक्षमा रहेका २३ जना आरोपीलाई परिवारको जिम्मामा हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
प्रहरीले दसैँलगायतका चाडपर्वमा कर्तव्य ज्यान, खतरनाक अपराध वा गम्भीर प्रकृतिका अभियोग बाहेकका अभियुक्तलाई परिवारको जिम्मा लगाएर अस्थायी रूपमा मुक्त गर्ने प्रचलन विगतदेखि कायम रहेको जनाएको छ । त्यसकै निरन्तरतामा जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई पनि छाड्न लागिएको हो ।
प्रहरीका अनुसार उनीहरूलाई चाडपर्व सकिएपछि परिवारले फेरि प्रहरीसमक्ष उपस्थित गराउने सर्तमा जिम्मा लगाइनेछ। यसअघि आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले फोटो र भिडियोका आधारमा पहिचान गरी पक्राउ प्रक्रिया अघि बढाएको थियो। तर पछिल्ला दिनमा गृह मन्त्रालयको दबाबका कारण कारबाही प्रक्रियामा ढिलाइ भएको बताइएको छ ।
यो निर्णयसँगै जेनजी आन्दोलनका क्रममा पक्राउ परेका अभियुक्तहरू अस्थायी रूपमा परिवारको साथमा फर्कन लागेका छन् भने घटनामा संलग्नको विस्तृत अनुसन्धान भने चाडपर्वपछि निरन्तर जारी रहने प्रहरीले जनाएको छ।