चाडपर्वमा उपहार नलिन नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको निर्देशन

रातो पासपोर्ट बुझाउन पूर्वसांसदलाई आग्रह, राष्ट्रिय शोकमा पार्टी कार्यक्रम नगर्न आह्वान


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई चाडपर्वका अवसरमा शुभकामना पत्रबाहेक अन्य कुनै उपहार नलिन निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयले प्रवक्ता मनिष झाको हस्ताक्षरमा जारी गरेको विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।

पार्टीले विशेषतः चाडपर्वका नाममा हुने उपहार संस्कृतिले पारदर्शिता र आचरणमा प्रश्न उठाउने भएकाले यसलाई पूर्ण रूपमा त्याग्नुपर्नेमा जोड दिएको छ । साथै, पूर्वसांसदहरूलाई तत्काल रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद सचिवालयमा बुझाउन अनुरोध गरिएको छ ।

विज्ञप्तिमा हालै जेनजेड आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको दुःखद परिस्थितिलाई स्मरण गर्दै देश नै राष्ट्रिय शोकमा रहेको उल्लेख गरिएको छ । त्यसकारण, यस पटक कुनै पनि तहमा पार्टीको ब्यानर वा झण्डा प्रयोग गरी चाडपर्वसम्बन्धी कार्यक्रम आयोजना नगर्न वा नगराउन सबै नेतृत्व र कार्यकर्तालाई आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्